आधारभूत शिक्षाको महत्व र विद्यार्थी निरन्तरतामा जोड दिँदै मेयर मिना लामाद्वारा लक्ष्मी आधारभूत विद्यालयको प्रशंसा

हेटौँडा, फागुन १ गते । सबै बालबालिकालाई शिक्षाको पहुँचमा पुर्‍याउने उद्देश्यले सरकारले लागू गरेको आधारभूत शिक्षा प्रणालीले माध्यमिक तहको बलियो जग हाल्ने काम गरेको मिना लामाले बताएकी छन्। संविधानले शिक्षालाई मौलिक हकका रूपमा सुनिश्चित गर्नुका साथै आधारभूत शिक्षालाई निःशुल्क बनाएको उल्लेख गर्दै उनले यसले नेपाली समाज र शिक्षा प्रणालीमा आधारभूत शिक्षाको महत्व प्रष्ट पारेको बताएकी हुन्।

मेयर लामाले शिक्षाका क्षेत्रमा गरिएको विभिन्न अनुसन्धानहरू उद्धृत गर्दै कक्षा १ मा भर्ना भएका धेरै बालबालिका कक्षा ८ सम्म पुग्दा बीचमै विद्यालय छोड्ने समस्या गम्भीर चुनौती बनेको उल्लेख गरेकी छन्। अनिवार्य निःशुल्क शिक्षा लागू हुँदाहुँदै पनि ५–१२ वर्ष उमेर समूहका करिब ६.२ प्रतिशत बालबालिका अझै पनि विद्यालय शिक्षामा निरन्तर नरहनु दुःखद पक्ष भएको उनको भनाइ छ।

उनले निःशुल्क शिक्षा मात्रै पर्याप्त नहुने उल्लेख गर्दै अभिभावकको चेतना, राज्यको दायित्व र विद्यालय परिवारको व्यवहारले बालबालिकाको शैक्षिक निरन्तरतामा ठूलो भूमिका खेल्ने बताइन्। चार दशक नजिक पुग्न लागेको श्री लक्ष्मी आधारभूत विद्यालयले स्थापना कालदेखि नै विद्यार्थी निरन्तरताको चुनौती झेल्दै आए पनि आधारभूत शिक्षामा पुर्‍याएको योगदान उल्लेखनीय रहेको मेयर लामाको भनाइ छ। राज्यले सामुदायिक विद्यालयतर्फ वार्षिक झण्डै एक खर्ब ३५ अर्ब रुपैयाँ खर्च गर्दै आए पनि अभिभावक र विद्यार्थी निजी विद्यालयतर्फ आकर्षित हुनु राज्य र विद्यालय दुवैका लागि चुनौती भएको उनले औँल्याइन्।

मेयर लामाले विद्यार्थीलाई अनुशासित, दक्ष र गुणस्तरीय शिक्षा प्रदान गर्न अभिभावकको भूमिका असामान्य हुने बताउँदै विद्यालय परिवार र अभिभावकबीचको सहकार्यले शैक्षिक गुणस्तर र विद्यार्थी निरन्तरतामा उल्लेखनीय सुधार ल्याउने विश्वास व्यक्त गरिन्। “पहिलो विद्यालय घरपरिवार हो र पहिलो शिक्षक पनि परिवार नै हो,” उनले उल्लेख गरिन्।

श्री लक्ष्मी आधारभूत विद्यालयले अभिभावक भेला आयोजना गरी गुणस्तरीय शिक्षा र असल विद्यार्थी उत्पादनप्रति प्रतिबद्धता जनाएको भन्दै उनले विद्यालयका प्रधानाध्यापक लगायत सम्पूर्ण विद्यालय परिवारलाई हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गरिन्। साथै हेटौडा उपमहानगरपालिकाले विद्यालयको गुणस्तर वृद्धिका लागि सबैखाले सहयोग गर्न तयार रहेको स्पष्ट पार्दै विद्यालयको उत्तरोत्तर प्रगतिको कामना समेत गरेकी छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.