मकवानपुरमा एमालेको चुनावी तयारी तीव्र प्रचार, संगठन र जनसम्पर्क बलियो बन्दै, दुवै क्षेत्रमा जित सुनिश्चित

हेटौँडा, फागुन ३ गते । नेकपा एमाले मकवानपुर जिल्लाको निर्वाचन परिचालन समितिको सचिवालय बैठक सम्पन्न भएको छ । बैठकले जिल्लाका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा पार्टीका उम्मेद्वारको जित सुनिश्चित हुने ठोस आधारहरू देखिएको निष्कर्ष निकालेको छ ।

आगामी निर्वाचनलाई लक्षित गर्दै सम्पन्न बैठकमा विगत निर्वाचनमा प्राप्त मत सुरक्षित गर्दै नयाँ चुनौतीको सामना गर्न सबै नेता तथा कार्यकर्ता अझ सक्रिय, सतर्क र एकजुट हुनुपर्नेमा जोड दिइएको छ । प्रचार–प्रसारका कार्यक्रमलाई थप प्रभावकारी र परिणाम मुखी बनाउने निर्णय गरिएको निर्वाचन परिचालन समितिका प्रचार प्रमुख नवीन सिग्देलले जानकारी दिएको छ ।

बैठकमा प्रस्तुत विवरण अनुसार उम्मेद्वारहरू कार्यकर्ता तथा मतदाता माझ पुग्दा उल्लेखनीय उत्साह देखिएको छ । यसअघि जिल्लाका १०२ वटै वडामा उम्मेद्वारसँग अगुवा कार्यकर्ता भेला सम्पन्न भइसकेको छ भने वडा तहसम्म निर्वाचन सम्पर्क कार्यालय सञ्चालनमा आएका छन् । पार्टी तथा जनसंगठनहरूमा आवश्यक निर्वाचन परिचालन समितिहरू गठन भइसकेको जानकारी निर्वाचन परिचालन समितिका सचिव हिदम लामाले दिए ।

बैठकमा मतदातासँगको प्रत्यक्ष संवाद, प्रचार–प्रसार रणनीति, स्वयंसेवक परिचालन, आर्थिक व्यवस्थापन तथा घोषणा पत्र निर्माणलगायत विषयमा विस्तृत छलफल गरिएको थियो ।

समीक्षात्मक प्रतिवेदन प्रस्तुत गर्ने क्रममा केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा क्षेत्र नम्बर १ का निर्वाचन परिचालन संयोजक एकालाल श्रेष्ठ, क्षेत्र नम्बर २ का सह–संयोजक राजाराम स्याङ्तान, केन्द्रीय लेखा आयोग सदस्य तथा प्रचार संयोजक नवीन सिग्देल, प्रतिबद्धता पत्र तयारी समितिका संयोजक अनन्तप्रसाद पौडेल र आर्थिक व्यवस्थापन समितिका संयोजक गोपाल श्रेष्ठले आ–आफ्नो क्षेत्रको प्रगति विवरण राखेका थिए ।

केन्द्रीय सदस्य तथा जिल्ला निर्वाचन परिचालन समितिका संयोजक रामेश्वर रानाको अध्यक्षतामा सम्पन्न बैठकमा अनुगमन समितिका संयोजक डोरमणि पौडेलले पार्टीविरुद्ध फैलाइएका भ्रमलाई चिर्दै एमालेले लोकतन्त्र स्थापना, संविधान निर्माण, शान्ति स्थापना तथा विकास–समृद्धिका लागि खेलेको भूमिकालाई जनता माझ प्रभावकारी रूपमा लैजान सबै नेता तथा कार्यकर्ता एकजुट भएर लाग्न निर्देशनात्मक मन्तव्य दिएका थिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.