चित्लाङ एफसी लाई आठौँ बागमती गोल्डकपको उपाधि, फाइनलमा बागमती युथ क्लबमाथि ४–० को शानदार जित

झुरझुरे,बैशाख २६ गते । आठौँ बागमती गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चित्लाङ एफसीले जितेको छ ।

शनिवार सहिद स्मृति रंगशाला झुरझुरे खेलमैदानमा सम्पन्न फाइनल खेलमा सर्लाहीको बागमती युथ क्लब लाई ४–० गोल अन्तरले पराजित गर्दै चित्लाङले उपाधि हात पारेको हो ।

खेलको सुरुवातदेखि नै आक्रामक बनेको चित्लाङका लागि एरोन थापाले दोस्रो मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि विदेशी खेलाडी सोलोमन किङले १७औँ र ४८औँ मिनेटमा दुई गोल थपे । चित्लाङका लागि अर्को गोल समीर तामाङले ७७औँ मिनेटमा गरेका थिए । उत्कृष्ट प्रदर्शन गरेका समीर तामाङ प्लेयर अफ दि म्याच घोषित भए ।

उपाधिसँगै चित्लाङ एफसीले नगद १० लाख रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता बनेको बागमती युथ क्लबले ५ लाख रुपैयाँ हात पारेको छ । विजेता तथा उपविजेता टोलीलाई बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामी, बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान तथा प्रतियोगिता संयोजक रहर सिं थिङ लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा चित्लाङ एफसीले पहिलो खेलमा नेपाल एपीएफ क्लबलाई पराजित गरेको थियो । त्यसपछि क्वाटरफाइनलमा मछिन्द्र फुटबल क्लब र सेमिफाइनलमा नवजनजागृति युवा क्लब सिमरा लाई हराउँदै फाइनलमा पुगेको थियो ।

उता बागमती युथ क्लबले पहिलो खेलमा आयोजक बागमती खेलकुद विकास समिति लाई हराएको थियो भने क्वाटरफाइनलमा चर्च ब्वाइज युनाइटेड तथा सेमिफाइनलमा फ्रेन्ड्स क्लब काठमाडौं लाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चित्लाङका लक्ष्मण थापा घोषित भए । उनले नगद १ लाख १ हजार रुपैयाँ प्राप्त गरे ।

यस्तै उत्कृष्ट गोलरक्षक चित्लाङका प्रिसो, उत्कृष्ट डिफेन्डर बागमतीका आयुष मगर, उत्कृष्ट मिडफिल्डर बागमतीकै अनिष महर्जन, उत्कृष्ट फरवार्ड चित्लाङका एरोन थापा तथा उत्कृष्ट प्रशिक्षक सुमन श्रेष्ठ घोषित भए । विधागत उत्कृष्ट सबैले जनही २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

बागमती गाउँपालिका मकवानपुरको प्रायोजनमा बागमती खेलकुद विकास समिति ले प्रतियोगिताको आयोजना गरेको हो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.