हेटौडा,बैशाख ८ गते । सडक डिभिजन हेटौडाले महेन्द्र राजमार्ग अन्तर्गत पथलैया–चुरियामाई खण्डमा सडक सीमा मिचेर बनाइएका संरचना हटाउन पुनः अत्यन्त जरुरी सूचना जारी गरेको छ।

डिभिजनले यसअघि २०७३ साल पौष १८ गते र २०८० साल असार ९ गते समेत विभिन्न चरणमा सूचना जारी गरिसकेको भए पनि हालसम्म सडक सीमाभित्र रहेका घरटहरा नहटाइएको पाइएको जनाएको छ।
सूचनाअनुसार महेन्द्र राजमार्गको पथलैया, चुरियामाई ३ नम्बर पुल र चुरियामाई मन्दिर क्षेत्र आसपास सडकको केन्द्रबाट दायाँ–बायाँ २५/२५ मिटर भित्र पर्ने सम्पूर्ण अनधिकृत संरचना २०८३ साल वैशाख १० गतेभित्र अनिवार्य रूपमा हटाउन निर्देशन दिइएको छ।
सडक विभागको स्वीकृति बिना सार्वजनिक सडक तथा सडक सीमाभित्र निर्माण गरिएका यस्ता संरचना कानुन विपरीत रहेको जनाउँदै डिभिजनले समयमै नहटाए सार्वजनिक सडक ऐन २०३१ तथा प्रचलित नेपाल कानुन बमोजिम कारबाही गरिने चेतावनी दिएको छ।














