बालबालिकालाई राजनीतिक गतिविधिमा प्रयोग गरे कानुनी कारबाही हुने : जिल्ला प्रशासन कार्यालय चितवन

चितवन,बैशाख २५ गते । जिल्ला प्रशासन कार्यालय चितवनले बालबालिकालाई राजनीतिक प्रयोजनमा प्रयोग नगर्न सबै राजनीतिक दल, संघ-संस्था तथा सरोकारवालालाई आग्रह गरेको छ।

कार्यालयद्वारा जारी सूचनामा गृहमन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखा तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको पत्रलाई आधार मान्दै बालबालिकालाई राजनीतिक गतिविधिमा संलग्न गराउने कार्य कानुनविपरीत रहेको उल्लेख गरिएको छ।

बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ (२) (छ) अनुसार बालबालिकालाई राजनीतिक प्रयोजनका लागि संगठित गर्ने, हड्ताल, बन्द, चक्काजाम, धर्ना वा जुलुसमा प्रयोग गर्ने कार्यलाई बालबालिका विरुद्धको कसुर मानिने व्यवस्था रहेको प्रशासनले जनाएको छ।

यस्ता गतिविधि रोकथाम गर्न तथा कानुन कार्यान्वयनलाई प्रभावकारी बनाउन हिजो वैशाख २४ गते बसेको जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सूचना जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारीले बताएका छन्।

प्रशासनले बालबालिकाको अधिकार र सुरक्षालाई मध्यनजर गर्दै कुनै पनि राजनीतिक वा आन्दोलनका कार्यक्रममा बालबालिकालाई सहभागी नगराउन सबैसँग अनुरोध गरेको छ। साथै सूचनाको अवज्ञा गर्दै बालबालिकालाई प्रयोग गरेको पाइएमा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गरिने चेतावनी समेत दिइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.