१० प्लास्टिक बोतल बराबर १ फलफूलको बिरुवा : हेटौंडामा वातावरण संरक्षण र हरियाली प्रवर्द्धन अभियान

हेटौंडा,जेठ २१ गते। विश्व वातावरण दिवस–२०८३ को अवसरमा हेटौंडा उपमहानगरपालिकाको सहयोग तथा टोल विकास संस्था नगर समन्वय समितिको आयोजनामा ‘बोतलसँग फलफूलका बिरुवा साट्ने’ कार्यक्रम सम्पन्न भएको छ। वातावरण संरक्षण, प्लास्टिकजन्य फोहोर व्यवस्थापन तथा हरियाली प्रवर्द्धनलाई लक्षित गर्दै हेटौंडा उपमहानगरपालिका वडा नं. १८ र वडा नं. ६ मा कार्यक्रम सञ्चालन गरिएको हो।

“१० वटा प्लास्टिक बोतल बराबर १ वटा फलफूलको बिरुवा” साट्ने व्यवस्था गरिएको उक्त कार्यक्रममार्फत दुई स्थानबाट गरी ४०० भन्दा बढी फलफूलका बिरुवा वितरण गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा सहभागी स्थानीयवासीले प्रयोगपछि फालिएका प्लास्टिकका बोतल संकलन गरी ल्याएका थिए भने त्यसको सट्टामा उन्नत जातका फलफूलका बिरुवा प्राप्त गरेका थिए।

टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीले वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा घरघरमा फलफूल उत्पादनको संस्कृतिलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए। नगरलाई हराभरा र वातावरणमैत्री बनाउने अभियानमा सबै नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको उनको भनाइ थियो।

वडा नं. १८ का अध्यक्ष अनिलकुमार बानियाँले यस्ता कार्यक्रमले वातावरण संरक्षणसँगै स्थानीय स्तरमा फलफूल उत्पादन बढाउन महत्वपूर्ण योगदान पुग्ने बताए। आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिइने उनले जानकारी दिए।

कार्यक्रममा सहभागी स्थानीयवासीहरूले प्लास्टिकजन्य फोहोरको उचित व्यवस्थापनसँगै फलफूलका बिरुवा प्राप्त गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिएका थिए। यस्ता अभियानले वातावरण संरक्षणप्रति नागरिकको चासो बढाउनुका साथै वृक्षारोपण अभियानलाई थप प्रभावकारी बनाएको उनीहरूको भनाइ थियो।

कार्यक्रमअन्तर्गत लिची, आँप, अम्बा, एभोकाडो, कागतीलगायत उन्नत जातका फलफूलका बिरुवा वितरण गरिएको थियो। आयोजकका अनुसार विश्व वातावरण दिवस–२०८३ को सप्ताहव्यापी कार्यक्रमअन्तर्गत नगरका विभिन्न ६ स्थानमा यस्ता कार्यक्रम सञ्चालन गरिनेछ। अभियानमार्फत १ हजारभन्दा बढी फलफूलका बिरुवा वितरण गर्ने लक्ष्य राखिएको छ।

वातावरण संरक्षण, प्लास्टिक फोहोर न्यूनीकरण तथा फलफूल खेती विस्तारलाई एकैसाथ जोडेर सञ्चालन गरिएको यस अभियानले नगरवासीमा सकारात्मक सन्देश प्रवाह गरेको आयोजकले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.