हेटौंडा,जेठ २१ गते। हेटौंडा उपमहानगरपालिका–११ स्थित सरस्वती खेल मैदानमा जिल्ला स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ। सरस्वती टोल विकास संस्थाको आयोजना तथा हेटौंडा उपमहानगरपालिका वडा नं. ११ को प्रायोजनमा आयोजित प्रतियोगिताको उद्घाटन जेठ २१ गते गरिएको हो।

प्रतियोगिताको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा वडा अध्यक्ष जुना दाहालले पानसमा दीप प्रज्वलन गरी टोलीका कप्तानलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको शुभारम्भ गरिन्।
उद्घाटन खेल आयोजक सरस्वती टोल विकास संस्थाका ‘ए’ र ‘बी’ टोलीबीच सम्पन्न भएको थियो। प्रतियोगिताको पहिलो दिन ६ वटा टोलीले प्रतिस्पर्धात्मक खेल प्रदर्शन गरेको कार्यक्रम संयोजक संजय बिडारीले जानकारी दिए।
आयोजकका अनुसार जेठ २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका १३ वटा टोली सहभागी छन्। प्रतियोगिताले स्थानीय स्तरमा खेलकुद गतिविधि प्रवर्द्धन गर्नुका साथै युवा खेलाडीको क्षमता विकासमा योगदान पुग्ने अपेक्षा गरिएको छ।
सरस्वती टोल विकास संस्थाका अध्यक्ष गोकुल बिडारीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, खेलप्रेमी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।
प्रतियोगिताको समापन समारोहमा २०३६ सालदेखि विभिन्न कालखण्डमा खेलकुद तथा भलिबल क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका अग्रज खेलाडी तथा खेलकर्मीलाई सम्मान गरिने आयोजकले जनाएको छ।














