हेटौँडा,जेठ २२ गते। लागूऔषध दुर्व्यसन तथा त्यसबाट सिर्जित सामाजिक र स्वास्थ्यजन्य समस्यालाई न्यूनीकरण गर्न स्थानीय सरकार, समुदाय, स्वास्थ्य संस्था, सुरक्षा निकाय तथा सरोकारवाला संस्थाबीच प्रभावकारी सहकार्य आवश्यक रहेको औँल्याइएको छ।

हेटौंडा उपमहानगरपालिका–४ मा सञ्चालित सिआन पुनर्स्थापन केन्द्र अन्तर्गतको महिला क्षति न्यूनीकरण परियोजना (Female DIC) ले शुक्रबार वडा कार्यालयमा लागूऔषध न्यूनीकरण तथा क्षति न्यूनीकरण कार्यक्रम सुदृढीकरणका लागि ध्यानाकर्षण पत्र बुझाएको छ।
ध्यानाकर्षण पत्र बुझ्दै वडा नं. ४ का वडाध्यक्ष नवीन सिग्देलले लागूऔषध समस्या वडा विशेषको मात्र नभई राजधानी सहरको साझा चुनौती भएको बताए। उनका अनुसार वडा नं. ४ मा स्थायी र अस्थायी गरी करिब २५ हजारभन्दा बढी जनसङ्ख्याको प्रत्यक्ष आवागमन हुने भएकाले एउटै वडालाई लक्षित कार्यक्रम मात्र पर्याप्त नहुने अवस्था रहेको छ।
“यो प्रदेश राजधानीको केन्द्र क्षेत्र हो। यहाँ चारैतिरबाट मानिसहरूको आवागमन हुन्छ। लागूऔषध नियन्त्रणका लागि वडा मात्र जिम्मेवार भएर पुग्दैन, सबै निकायको समन्वय आवश्यक छ,” उनले भने।
वडाध्यक्ष सिग्देलले विगतका वर्षहरूमा लागूऔषध प्रयोगकर्ताको जमघट हुने जोखिमयुक्त स्थानहरूलाई लक्षित गर्दै विभिन्न पूर्वाधार निर्माण तथा व्यवस्थापनका काम गरिएको जानकारी दिए। कर्रा खोलाको किनार तथा हुप्राचौर आसपासका क्षेत्रमा लागूऔषध प्रयोगकर्ताको उपस्थिति घटाउन पार्क निर्माण, सार्वजनिक संरचना स्थापना तथा निगरानी प्रणाली सुदृढ गरिएको उनको भनाइ थियो।
उनले वडा प्रहरी कार्यालयसँगको सहकार्यमा लागूऔषध दुर्व्यसन नियन्त्रणका लागि विभिन्न अभियान सञ्चालन गरिँदै आएको उल्लेख गर्दै पूर्ण नियन्त्रण सम्भव नभए पनि विगतको तुलनामा न्यूनीकरण भएको दाबी गरे।
“लागूऔषध नियन्त्रणका लागि प्रयोग हुने स्थान मात्र हटाएर पुग्दैन, यसको प्रवेशद्वार अर्थात् मुहान नै बन्द गर्नुपर्छ,” उनले भने, “नाकाहरूमा निगरानी बढाउनुपर्ने र विद्यालय वरपर सुर्तीजन्य पदार्थ बिक्रीमा कडाइ गर्नुपर्ने आवश्यकता छ।”
वडाध्यक्ष सिग्देलले युवा क्लब, बाल क्लब, टोल विकास संस्था तथा विभिन्न सीपमूलक तालिममार्फत युवाहरूलाई सकारात्मक गतिविधिमा जोड्ने प्रयास भइरहेको पनि जानकारी दिए। लागूऔषध नियन्त्रण अभियानसँगै स्वास्थ्य, शिक्षा, संस्कृति तथा सामाजिक सचेतनामूलक कार्यक्रमलाई समेत प्राथमिकता दिइएको उनले बताए।
यसअघि सिआन महिला DIC ले बुझाएको ध्यानाकर्षण पत्रमा वडा क्षेत्रमा लागूऔषध प्रयोग तथा ओसारपसारको जोखिम बढ्दै गएको, जोखिम समूहमा प्रयोग दर वृद्धि भएको, एचआइभी तथा हेपाटाइटिस संक्रमणको सम्भावना बढेको तथा उपचार र पुनर्स्थापना सेवामा पहुँच कमजोर रहेको उल्लेख गरिएको छ।
संस्थाले हार्म रिडक्सन (Harm Reduction) सेवा विस्तार, मनोसामाजिक परामर्श, एचआइभी तथा हेपाटाइटिस परीक्षण सहजीकरण, समुदायस्तरीय जनचेतना, पुनर्स्थापना सेवा सुदृढीकरण तथा कलंक र विभेद न्यूनीकरण अभियान सञ्चालनका लागि स्थानीय सरकारको संस्थागत सहकार्य माग गरेको छ।
साथै नियमित आउटरिच कार्यक्रम सञ्चालन, जोखिम समूह पहिचान, बहुपक्षीय समन्वय समिति गठन, तथ्याङ्कमा आधारित योजना निर्माण तथा दीर्घकालीन सहकार्यका लागि समझदारीपत्र (एमओयू) प्रक्रिया अघि बढाउन समेत आग्रह गरिएको छ।
सिआन महिला क्षति न्यूनीकरण परियोजनाले सुरक्षित स्वास्थ्य, सामाजिक पुनर्स्थापना तथा जिम्मेवार समुदाय निर्माणका लागि स्थानीय सरकारसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।
ध्यानाकर्षण पत्र !















