देवकोट,जेठ ३१ गते। मनहरी गाउँपालिका–८ देवकोटमा निर्माण गरिएको स्वास्थ्य केन्द्र सञ्चालनमा आएको दुई वर्ष पनि नपुग्दै सेवा ठप्प भएको छ। स्थानीय नागरिकलाई गाउँमै आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएको उक्त स्वास्थ्य केन्द्र विगत करिब एक वर्षदेखि बन्द अवस्थामा रहेको स्थानीयवासीले बताएका छन्।
स्थानीयका अनुसार स्वास्थ्य केन्द्र निर्माण सम्पन्न भएपछि केही समय नियमित रूपमा सञ्चालनमा आएको थियो। तर गत वर्षको जेठ महिनादेखि स्वास्थ्यकर्मीको व्यवस्था हुन नसक्दा र सेवा सञ्चालनमा निरन्तरता नआउँदा स्वास्थ्य केन्द्र पूर्ण रूपमा बन्द भएको हो।
स्वास्थ्य केन्द्र बन्द भएपछि सामान्य बिरामी समेत उपचार तथा औषधिका लागि टाढाका स्वास्थ्य संस्थामा जान बाध्य भएका छन्। आकस्मिक अवस्थामा आवश्यक पर्ने सामान्य औषधि समेत स्वास्थ्य केन्द्रबाट उपलब्ध नभएपछि स्थानीयले स्वास्थ्य स्वयंसेविका मार्फत औषधि लिनुपर्ने अवस्था रहेको बताएका छन्।
स्थानीयवासीहरूले स्वास्थ्य केन्द्र निर्माण भएपछि गाउँमै उपचार सेवा पाउने अपेक्षा गरे पनि हाल भवन मात्र रहेको र स्वास्थ्य सेवा उपलब्ध नभएको गुनासो गरेका छन्। सामान्य ज्वरो, रुघाखोकी तथा अन्य सामान्य स्वास्थ्य समस्याको उपचारका लागि समेत अन्यत्र धाउनुपर्ने बाध्यता रहेको उनीहरूको भनाइ छ।

स्थल निरीक्षणका क्रममा स्वास्थ्य केन्द्रभित्र रहेको बिरामी सुताउने बेड धुलाम्मे अवस्थामा भेटिएको छ। भवनभित्र सरसफाइको अभाव देखिएको छ भने बाहिरी परिसरमा झारपात बढेको र भवन लामो समयदेखि प्रयोगविहीन रहेको स्पष्ट देखिन्छ।

लाखौं रुपैयाँ खर्च गरेर निर्माण गरिएको स्वास्थ्य केन्द्र लामो समयदेखि बन्द रहँदा सम्बन्धित निकायको ध्यान पुग्न नसकेको भन्दै स्थानीयवासीले असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूले तत्काल स्वास्थ्यकर्मीको व्यवस्था गरी स्वास्थ्य केन्द्रलाई नियमित सञ्चालनमा ल्याउन माग गरेका छन्।

स्थानीय बासिन्दाहरूका अनुसार स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा लामो समयसम्म सेवा अवरुद्ध हुँदा पनि सम्बन्धित निकाय तथा जनप्रतिनिधिहरूले आवश्यक चासो नदेखाएको महसुस गरिएको छ। देवकोट क्षेत्रका नागरिकले स्वास्थ्य केन्द्र पुनः सञ्चालनमा ल्याई आधारभूत स्वास्थ्य सेवा सहज र नियमित रूपमा उपलब्ध गराउन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।














