हेटौंडा, असार १८ गते । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० रानीमहलस्थित जय गणेश वर्कशपमा कार्यरत एक सुरक्षा गार्डमाथि धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा एक जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मिति २०८३ असार १६ गते राति करिब ११ः५५ बजे जय गणेश वर्कशपमा सुरक्षा गार्डको रूपमा कार्यरत नुवाकोटको सूर्यगढी गाउँपालिका–१ निवासी ३२ वर्षीय रोहित तामाङमाथि हेटौंडा उपमहानगरपालिका–५ निवासी ३३ वर्षीय सविन नेपालीले कुटपिट गर्नुका साथै धारिलो हतियार ‘टाप’ प्रहार गरेका थिए। घटनामा तामाङ शरीरका विभिन्न भागमा गम्भीर घाइते भएका छन्।
घटनापछि फरार रहेका प्रतिवादी सविन नेपालीलाई वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा असार १७ गते बिहान करिब २ बजे धारिलो हतियारसहित आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ।
प्रहरीले पक्राउ परेका नेपालीविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा मकवानपुर जिल्ला अदालतबाट आठ दिनको म्याद अनुमति लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ।















