हेटौंडा, असार १९ गते । हेटौंडा उपमहानगरपालिका वडा नं. १० मा निर्माणाधीन घण्टाघरको टुँडालमा भगवान गौतम बुद्धको चित्र राख्ने कार्यसहित अन्य आवश्यक निर्माण तथा सौन्दर्यीकरणका काम अगाडि बढाइने भएको छ। यस विषयमा वडा नं. १० का वडाध्यक्ष फुर्बा दोर्जे लामाले सामाजिक सञ्जालमार्फत वडावासीसँग सुझाव तथा राय माग गरेका छन्।
वडाध्यक्ष लामाले वडा नं. १० को धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा सौन्दर्य पक्षलाई अझ समृद्ध, आकर्षक र व्यवस्थित बनाउने उद्देश्यले घण्टाघरसँग सम्बन्धित विभिन्न निर्माण तथा सौन्दर्यीकरणका कार्य सञ्चालन भइरहेको बताएका छन्। उनले यी कार्यलाई प्रभावकारी, जनभावनाअनुकूल तथा दिगो बनाउन स्थानीयवासी, बुद्धिजीवी, सामाजिक अभियन्ता तथा सरोकारवालाबाट रचनात्मक सुझावको अपेक्षा गरिएको उल्लेख गरेका छन्।
उनका अनुसार घण्टाघरको टुँडालमा भगवान गौतम बुद्धको चित्र राख्ने विषय, निर्माणको स्वरूप, सौन्दर्यीकरण, आवश्यक सुधार तथा थप गर्नुपर्ने कामका सम्बन्धमा प्राप्त सुझावले योजनालाई अझ सभ्य, व्यवस्थित र प्रभावकारी ढंगले अगाडि बढाउन सहयोग पुग्नेछ।
वडाध्यक्ष लामाले हेटौंडा–१० को समग्र विकास, पहिचान र सौन्दर्य वृद्धिका लागि निर्माणाधीन घण्टाघरसँग सम्बन्धित विषयमा सम्पूर्ण वडावासीलाई आफ्ना अमूल्य धारणा, सुझाव तथा राय दिन आग्रह गरेका छन्।
स्थानीय स्तरमा धार्मिक तथा सांस्कृतिक पहिचान झल्किने संरचना निर्माणसँगै सार्वजनिक स्थलको सौन्दर्यीकरणले वडाको आकर्षण बढ्ने अपेक्षा गरिएको छ।














