हेटौंडा, भदौ ७ गते । हेटौंडा उपमहानगरपालिकामा प्रज्ञा प्रतिष्ठान गठन नभएको विषयमा विभिन्न माध्यमबाट प्रश्न उठिरहेका बेला हेटौंडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलले यसबारे गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
सिग्देलले सामाजिक सञ्जाल फेसबुक मार्फत नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूको तर्फबाट स्पष्ट पार्दै प्रज्ञा प्रतिष्ठान गठनसम्बन्धी नियुक्तिको विषय उपमहानगरपालिकाको कार्यपालिका बैठकको कार्यसूचीमा आफूहरूले कहिल्यै नदेखेको बताएका छन्।
उनका अनुसार प्रज्ञा प्रतिष्ठानसम्बन्धी कार्यविधि पारित भए पनि वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरूलाई प्रतिष्ठान गठन गर्ने वा नगर्ने विषयमा कुनै जानकारी दिइएको छैन। यस विषयमा पार्टी तथा आफूहरूलाई समेत कुनै जानकारी नरहेको सिग्देलको दाबी छ।
‘प्रज्ञा प्रतिष्ठान गठनसम्बन्धी नियुक्तिको विषय कार्यपालिकाको बैठकको कार्यसूचीमा कहिल्यै पनि समावेश हुने गरेको छैन,’ सिग्देलले उल्लेख गरेका छन्। बजारमा आएका विभिन्न चर्चा तथा परिचर्चा मिथ्या रहेको भन्दै उनले अनावश्यक आक्षेप लगाएर आफ्नो असक्षमता लुकाउने प्रयास नगर्नसमेत आग्रह गरेका छन्।
सिग्देलले प्रज्ञा प्रतिष्ठानको कार्यक्षेत्रमा पर्ने कला, भाषा तथा संस्कृतिको प्रवर्द्धनका विषयमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरू गम्भीर रहेको दाबी गरेका छन्। यस क्षेत्रमा आफूहरूको चासो, प्रयास र प्रयत्न सबैका सामु स्पष्ट रहेको उनको भनाइ छ।
प्रज्ञा प्रतिष्ठान गठनका विषयमा विभिन्न कोणबाट प्रश्न उठिरहेका बेला वडाध्यक्ष सिग्देलको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो। उनले प्रतिष्ठान गठनसम्बन्धी वास्तविक प्रक्रिया र निर्णयबारे स्पष्ट जानकारी सार्वजनिक हुनुपर्ने संकेतसमेत गरेका छन्।














