चितवन, भदौ १३ गते । विनाशकारी रसुवा बाढीमा परी चितवनमा हालसम्म संकलन गरिएका २३३ शवमध्ये पहिचान भएका चार शव सम्बन्धित परिवारलाई बुझाइएको छ भने बाँकी २२९ शव होल्डिङ सेन्टर तथा स्वास्थ्य संस्थामा राखिएका छन्।
जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार जारी गरेको सूचनाअनुसार होल्डिङ सेन्टर, स्वास्थ्य संस्था तथा नदी तटबाट संकलन गरिएका शव तथा अवशेषहरू लामो समयसम्म राखिँदा सडगल्ने अवस्थामा पुगेका छन्। शवहरू दुर्गन्धित बन्दै गएकाले संक्रमण तथा महामारी फैलिन सक्ने जोखिम रहेको स्वास्थ्य क्षेत्रका विज्ञहरूको राय तथा विश्लेषणका आधारमा तत्काल व्यवस्थापन गर्नुपर्ने अवस्था सिर्जना भएको प्रशासनले जनाएको छ।
यसै परिस्थितिलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समिति चितवनको भदौ १३ गतेको निर्णयअनुसार पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३ बमोजिम सबै शव जमिनमुनि व्यवस्थापन गर्ने निर्णय गरिएको छ।
शव व्यवस्थापनअघि सबै शवको DNA नमुना संकलन गरी संकेत नम्बरका आधारमा अभिलेख राखिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। शव व्यवस्थापनका लागि आवश्यक प्रक्रिया अघि बढाउन भरतपुर महानगरपालिकालाई समेत अनुरोध गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले शोकको यस विषम परिस्थितिमा बाध्यात्मक अवस्थाबाट सिर्जित निर्णयलाई सकारात्मक रूपमा लिँदै सहयोग, समन्वय तथा आवश्यक सूचना सम्प्रेषण गरिदिन सम्बन्धित सबैमा अनुरोध गरेको छ। साथै, यस निर्णयबाट पीडित परिवारमा पर्न गएको असुविधाप्रति क्षमायाचना गरिएको छ।
यस विषयमा थप जानकारीका लागि प्रहरी निरीक्षक अनिल थापा ९८५५०१७०९९ वा सहायक प्रहरी हवल्दार सुजन खनाल ९८५१३५९९५८ मा सम्पर्क गर्न जिल्ला प्रशासन कार्यालय चितवनले अनुरोध गरेको छ।















