रसुवा, नुवाकोट र धादिङका बाढीपीडितका लागि राहत संकलन गर्न काठमाडौँ प्रशासनको एकद्वार प्रणाली

काठमाडौँ, भदौ १३ गते । रसुवा, नुवाकोट र धादिङका नदी किनारका क्षेत्रमा २०८३ भदौ १० गते आएको बाढीबाट प्रभावित नागरिकका लागि राहत सामग्री संकलन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले अत्यन्त जरुरी सूचना जारी गरेको छ।

काठमाडौँ जिल्लाभित्र रहेका विभिन्न संघसंस्था, व्यक्ति, कम्पनी, क्लब तथा नागरिकस्तरबाट कपडा, भाँडाकुँडा तथा अन्य आवश्यक सामग्री राहतस्वरूप संकलन गरी उपलब्ध गराउन इच्छुकलाई प्रशासनले समन्वय गर्न आग्रह गरेको छ।

काठमाडौँमा संकलन हुने राहत सामग्रीहरू एकद्वार प्रणालीमार्फत जिल्ला प्रशासन कार्यालयमा संकलन गरिनेछ। त्यसपछि सम्बन्धित जिल्लाका सुरक्षा निकाय, राहत तथा उद्धारमा प्रत्यक्ष रूपमा खटिएका काठमाडौँस्थित सुरक्षा निकायहरू तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको समन्वय र निर्देशनमा सामग्री व्यवस्थापन गरी वास्तविक पीडितसम्म पुर्‍याइने व्यवस्था मिलाइने प्रशासनले जनाएको छ।

राहत संकलन तथा समन्वयका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँकी प्रशासकीय अधिकृत सुजन कुमारी बर्देवालाई सम्पर्क व्यक्ति तोकिएको छ। आवश्यक जानकारी तथा समन्वयका लागि उहाँको मोबाइल नम्बर ९८४१७९८५४२ मा सम्पर्क गर्न सकिनेछ।

त्यस्तै, नगद सहयोग गर्न इच्छुक व्यक्तिहरूले व्यक्तिगत खाता वा अन्य माध्यममा रकम जम्मा नगरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको आधिकारिक खाता वा उपलब्ध गराइएको QR मार्फत सोही खातामा मात्र रकम जम्मा गर्न प्रशासनले अनुरोध गरेको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी खेमराज भुसालद्वारा जारी सूचनामा राहत वितरणलाई व्यवस्थित, पारदर्शी र वास्तविक पीडितसम्म प्रभावकारी रूपमा पुर्‍याउने उद्देश्यले एकद्वार प्रणाली अपनाइएको जनाइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.