हेटौंडा, भदौ १७ गते । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङमा EV गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
हिजो राति करिब ९ः५० बजे राप्ती खोला नजिकै बुद्ध पार्क अगाडि महेन्द्र राजमार्गमा नारायणघाटबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०६–००१ ज.०३२९ नम्बरको खाली EV गाडीले पैदलयात्रीलाई ठक्कर दिएको थियो।
दुर्घटनामा पर्साको वीरगञ्ज महानगरपालिका–३२ निवासी करिब ५० वर्षीय वीरेन्द्र पासवान गम्भीर घाइते भएका थिए। दुर्घटनालगत्तै अ.प्र.पोष्ट थानाभर्याङ मकवानपुरबाट ट्राफिकसहितको टोलीले उद्धार गरी उनलाई उपचारका लागि हेटौंडा अस्पताल पुर्याएको थियो। उनको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था गम्भीर रहेको बताइएको थियो।
घाइते पासवानलाई थप उपचारका लागि भदौ १७ गते राति १२ः०५ बजे वीरगञ्जस्थित वयोधा अस्पताल, पर्सा रिफर गरिएको थियो। तर उपचारका क्रममा राति १ः४५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न EV र चालक मकवानपुरको राक्सिराङ गाउँपालिका–७ निवासी करिब ३३ वर्षीय बुद्धिलाल थिङलाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखेको छ। मृतकको उपचारमा उनका दाइ सुरेन्द्र पासवान संलग्न रहेका थिए।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।














