दृष्टिविहीन युवालाई सेयर बजारबारे वित्तीय साक्षरता, दुईदिने कार्यक्रम सम्पन्न

काठमाडौँ, भदौ २३ गते । दृष्टिविहीन तथा न्यून दृष्टि भएका युवाहरूको वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौँमा आयोजित सेयर बजारसम्बन्धी दुईदिने कार्यक्रम सम्पन्न भएको छ।

नेत्रहीन युवा सङ्घ नेपाल, उपत्यका शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा दृष्टिसम्बन्धी अपाङ्गता भएका २१ जना युवाहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागीहरूलाई सेयर बजारसम्बन्धी आधारभूत ज्ञानसँगै प्राथमिक बजार र दोस्रो बजारबीचको अन्तर, दोस्रो बजारमा लगानी गर्दा हुनसक्ने जोखिम तथा लगानीका क्रममा अपनाउनुपर्ने सावधानीलगायतका विषयमा जानकारी दिइएको थियो।

दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा सहजकर्ता शिव अग्रवाल र कुशल न्यौपानेले सहभागीहरूले राखेका जिज्ञासाका आधारमा सेयर बजार तथा वित्तीय साक्षरतासम्बन्धी विषयमा छलफल तथा अन्तरक्रिया गरेका थिए।

कार्यक्रममा बोल्दै नेत्रहीन युवा सङ्घ नेपाल उपत्यका शाखाका सचिव मदन रोकायले सेयर बजारमा लगानी गर्नु मात्र महत्वपूर्ण नभई लगानीसँगै वित्तीय अनुशासन कायम गर्नु अझ महत्वपूर्ण रहेको बताए।

कार्यक्रमको समापन गर्दै नेत्रहीन युवा सङ्घ नेपालका केन्द्रीय सदश्य शङ्कर उपाध्यायले दृष्टिविहीन तथा न्यून दृष्टि भएका युवाहरूको आवश्यकता र रुचिलाई मध्यनजर गर्दै आगामी दिनमा पनि सेयर बजार तथा वित्तीय साक्षरतासम्बन्धी थप कार्यक्रम सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।

उनले दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूले खोजे र रोजेअनुसारका अवसर तथा कार्यक्रम उपलब्ध गराउन नेत्रहीन युवा सङ्घ निरन्तर क्रियाशील रहने बताए।

काठमाडौँमा सम्पन्न उक्त कार्यक्रमले दृष्टिविहीन तथा न्यून दृष्टि भएका युवाहरूलाई सेयर बजार र वित्तीय व्यवस्थापनसम्बन्धी ज्ञान हासिल गर्न सहयोग पुगेको आयोजकले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.