हेटौँडा, भदौ २३ गते । हेटौँडा उपमहानगरपालिका–४ स्थित भैरवरोडको चिसापानी खण्डमा चेम्बर भत्किएर ढल अवरुद्ध भएपछि उत्पन्न समस्या समाधानका लागि मर्मत तथा निर्माण कार्य जारी रहेको वडाध्यक्ष नवीन सिग्देलले बताएका छन्।
वडाध्यक्ष सिग्देलले सामाजिक सञ्जाल फेसबुक मार्फत स्टाटस सार्वजनिक गर्दै आफूहरू समस्या समाधानका लागि निरन्तर प्रयासरत रहेको बताएका हुन्। उनले समस्यालाई अतिरञ्जित नगर्न र निर्माण कार्य अवधिभर धैर्य गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।
उनका अनुसार चेम्बर भत्किएर ठूलो खाडल बनेपछि भैरवरोडमा पानी जम्ने तथा थप दुर्घटनाको जोखिम बढेको थियो। सम्भावित दुर्घटनालाई ध्यानमा राख्दै तत्काल मर्मत कार्य सुरु गरिएको भए पनि लगातार परेको वर्षा तथा समग्र बजार क्षेत्रको ढलको निकास सोही स्थानबाट हुने भएकाले काम अघि बढाउन कठिनाइ भएको हो।
मर्मतका क्रममा पानी पम्प गरेर बाहिर निकाल्ने प्रयास गरिए पनि निश्चित सतहपछि पानीको मात्रा घट्न नसकेको वडाध्यक्ष सिग्देलले बताएका छन्। एकातर्फ आकाशे पानी र अर्कोतर्फ बजार क्षेत्रको ढल निरन्तर आइरहेकाले निर्माण कार्य प्रभावित भइरहेको उनको भनाइ छ।
उनले उक्त स्थानमा देखिएको खाडल सामान्य रूपमा पुर्ने विषय मात्र नभएको स्पष्ट पारेका छन्। भैरवरोडको उक्त संरचना हेटौँडा बजारको समग्र ढल निकास प्रणालीसँग सम्बन्धित भएकाले आवश्यक प्रविधि र पूर्वतयारीसहित निर्माण कार्य अघि बढाउनुपर्ने उनले बताएका छन्।
निर्माणका लागि आवश्यक तयारी पूरा गरेर काम अघि बढाए पनि एकैपटक ठूलो वर्षा हुँदा अघिल्लो काम प्रभावित हुने अवस्था रहेको उनले उल्लेख गरेका छन्। यद्यपि समस्या समाधानका लागि निर्माण कार्यलाई निरन्तरता दिइरहेको उनको भनाइ छ।
निर्माण कार्यका कारण आवतजावत तथा दैनिक जनजीवनमा पर्न गएको असुविधाप्रति वडाध्यक्ष सिग्देलले क्षमायाचना गर्दै समस्या समाधान नभएसम्म धैर्य गर्न र निर्माण कार्यमा सहयोग गर्न सबैलाई आग्रह गरेका छन्।
उनले सामाजिक सञ्जाल मार्फत ‘हामी चुपचाप छैनौँ, हाम्रो प्रयास जारी छ’ भन्दै समस्या समाधानका लागि आफूहरू निरन्तर लागिरहेको सन्देश दिएका छन्।














