मोरङ। मोरङको बेलबारी नगरपालिका–१० भाउन्नेमा छाडा कुकुरले टोकेर घाइते भएका १ जना पुरुषको मृत्यु भएको छ। बेवारिसे कुकुरले टोकेर घाइते भएका मोरङको मिक्लाजुङ गाउँपालिका–६ मगर टोलका अन्दाजी ६२ वर्षीय गौडे भनिने कृष्णबहादुर मगरको मृत्यु भएको हो।
स्थानीयका अनुसार मगर केही समययता भाउन्ने क्षेत्रमै बस्दै आएका थिए। बाटो हिँड्दै गर्दा बिहीबार बिहान ९ बजेतिर उनलाई कुकुरले टोकेको थियो। दायाँ खुट्टाको पिँडुलामा टोकेर मगरलाई गम्भीर घाइते बनाएपछि घटनास्थलबाट कुकुर भागेको बेलबारी–१० का वडाध्यक्ष गंगाबहादुर याक्खाले जानकारी दिए। कुकुरले टोकेपछि मगर रक्ताम्य भएर सडकमा ढलेका थिए।
वडाध्यक्ष याक्खाका अनुसार सडकमा लडिरहेको अवस्थामा उद्धार गरेर उपचारका लागि नगर अस्पताल बेलबारी लगिएको थियो । त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइयो। अस्पताल ल्याइपुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।
कुकुरले टोकेर लागेको चोटबाट अत्यधिक रक्तश्राव भएका कारण मगरको मृत्यु भएको चिकित्सकले बताएका छन्। शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमै राखिएको छ। परिवारका सदस्य सम्पर्कमा आइसकेको र शुक्रबार पोस्टमार्टम गरेर शव जिम्मा लगाइने प्रहरीले जनाएको छ।














