काठमाडौँ। सर्वोदय समावेशी अक्षर र अनुसन्धान संस्थाले दृष्टिविहीन व्यक्तिहरूका लागि लक्षित वित्तीय साक्षरता कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। हिजो (जेठ) ३१ गते, शनिबार) धुम्बाराहीस्थित नेसनल कलेजमा आयोजित उक्त कार्यक्रममा कामना सेवा विकास बैंकले समन्वय गरेको थियो।
कार्यक्रममा कामना सेवा विकास बैंकका सियासार विभाग प्रमुख सुशील पौडेलले सहजकर्ताको भूमिका निभाउँदै वित्तीय साक्षरताका विभिन्न पक्षहरूमाथि प्रकाश पारेका थिए। यस कार्यक्रमको मुख्य आकर्षण नेपालमै पहिलोपटक कामना सेवा विकास बैंकले दृष्टिविहीन व्यक्तिहरूका लागि ल्याएको ‘लक्षित स्वाभिमान बचत खाता’ बारे विस्तृत जानकारी गराउनु थियो।
सो अवसरमा उपस्थित थुप्रै दृष्टिविहीन व्यक्तिहरूले उक्त ‘लक्षित स्वाभिमान बचत खाता’ खोलेका थिए, जसले उनीहरूमा वित्तीय पहुँच अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। यस कार्यक्रमले दृष्टिविहीन समुदायलाई वित्तीय रूपमा सशक्त बनाउन महत्त्वपूर्ण भूमिका खेलेको आयोजक संस्थाले जनाएको छ। कार्यक्रममा अपाङ्गता भएका ४० जना सहभागीहरूको सहभागिता रहेको थियो।
अपाङ्गता भएका व्यक्तिहरूको शैक्षिक उन्नयन र रोजगारी प्रवर्धनमा क्रियाशील संस्था सर्वोदय समावेशी अक्षर र अनुसन्धानले दृष्टिविहीन व्यक्तिहरूको लेखन सहयोगी खोज्ने कार्यबाट आफ्नो गतिविधिको थालनी गरेको थियो। अहिले यो संस्था रोजगारी प्रवर्धन र शैक्षिक उन्नयनका गतिविधिहरूमा सक्रिय रूपमा अगाडि बढिरहेको संस्थाका कोषाध्यक्ष सौगात वाग्लेले जानकारी दिएकाछन्।















