हेटौँडा, मंसिर ६ गते । हेटौँडा उपमहानगरपालिका–४ स्थित बागमती प्रदेशको राजधानी केन्द्रमा रहेको ‘लोकतान्त्रिक चौर (हुप्र)’ अब आधुनिक प्रकाश व्यवस्थासहित २४ घण्टा उज्यालो बन्ने भएको छ। चौर क्षेत्रलाई सुरक्षित, व्यवस्थित र खेलमैत्री बनाउने उद्देश्यसहित उच्च क्षमताकाे प्रकाश उपकरण जडानको कार्य सुरु गरिएको वडाध्यक्ष नविन सिग्देलले जानकारी दिएको छ।

वडाध्यक्ष सिग्देलका अनुसार :- मञ्च क्षेत्रतर्फ ८ वटा बत्ती सहितको एक थान हाई–मास्ट र पानी ट्यांकी तथा भलिबल कोर्ट नजिक ६–६ बत्ती जडित दुई थान मिनी–मास्ट जडानको काम अगाडि बढाइएको छ। यी बत्तीहरू सञ्चालनमा आएपछि चौरको आन्तरिक भागमा अब अन्धकारको समस्या रहने छैन भने साँझ–बिहान विविध गतिविधि सहज रूपमा सञ्चालन हुने अपेक्षा गरिएको छ।
हाल चौरमा सञ्चालन भइरहेका फुटबल, क्रिकेट, भलिबल लगायतका खेलहरू निर्धारित समयमै सम्पन्न गर्न अझ थप सुविधा मिल्नेछ। प्रकाश व्यवस्थाको विस्तारले सुरक्षामा पनि सकारात्मक प्रभाव पर्ने स्थानीयको विश्वास छ।
यससँगै वडा कार्यालयले चौरको नियमित मर्मत, सरसफाई, घाँस काट्ने कार्य निरन्तर जारी राखेपछि क्षेत्र विगतका वर्षहरूको तुलनामा धेरै नै व्यवस्थित देखिन थालेको छ। स्वास्थ्य, खेल तथा पर्यटन क्षेत्रको विकासलाई लक्षित गर्दै अन्य आवश्यक कामहरू पनि चाँडै अघि बढाइने वडा कार्यालयले जनाएको छ।
चौर क्षेत्रमा मस्ट जडानका लागि पहल गरिदिनु भएकाे नगर प्रमुखसहित सम्पूर्ण कार्यपालिकाप्रति आभार व्यक्त गर्दै वडा प्रतिनिधिहरूले यस अभियानमा सबैको निरन्तर सहयोगको अपेक्षा गरेका छन्।



























