हेटौंडा, पुस ३ गते । बीपी राजमार्गअन्तर्गत रोशी खोलाले बगाएको सडक खण्डको पुनर्निर्माण सुरु भएसँगै यात्रुहरूले थप सास्ती व्यहोर्नु परेको छ। चौकीडाँडादेखि नेपालथोकसम्मको करिब २५ किलोमिटर दूरी अहिले रोशी खोलाको बगर हुँदै पार गर्नुपर्ने अवस्था बनेको छ, जसका कारण बीपी राजमार्गको यात्रा कम्तीमा एक घण्टाले लम्बिएको छ।
यसअघि रोशी खण्डको अधिकांश भाग कालोपत्रे सडकबाटै सवारी साधन सञ्चालन हुँदै आएको थियो। तर बाढीले सडक बगाएपछि अहिले पुनर्निर्माणका लागि उक्त खण्ड पूर्ण रूपमा बन्द गरिएको छ र खोलाबाट अस्थायी डाइभर्सन बनाएर सवारी आवागमन भइरहेको छ। बगर–बगरको उबडखाबड यात्राले यात्रु तथा चालक दुवैलाई हैरानी बनाएको छ।
पहिले बीपी राजमार्गको केही खण्ड क्षतिग्रस्त हुँदा यात्रा करिब आधा घण्टा मात्रै लम्बिएको थियो। तर अहिले पूरै रोशी खण्ड खोलाबाटै पार गर्नुपर्दा समय झन् बढेको छ। त्यसमाथि धुलिखेलदेखि सूर्यविनायकसम्मको करिब २५ किलोमिटर सडक खण्ड पनि निर्माणाधीन रहेकाले यात्रामा थप कठिनाइ देखिएको छ।
सिन्धुलीमाढी हुँदै बीपी राजमार्ग प्रयोग गर्ने यात्रुहरूका लागि अहिले हेटौंडा–कुलेखानी–फाखेल सडक उपयुक्त विकल्पका रूपमा देखिएको छ। यो मार्ग दूरीमा करिब ४० किलोमिटर लामो भए पनि रोशी खण्डको जोखिमपूर्ण र ढिलो यात्राको तुलनामा छिटो र सहज रूपमा गन्तव्यमा पुग्न सकिने यात्रुहरूको अनुभव छ।














