काठमाडौँ, पुस ५ गते । छरिएर सक्रिय रहेका जेन जि समूहहरूलाई एउटै मोर्चामा ल्याउँदै ३० भन्दा बढी समूहले संयुक्त रूपमा सरकारविरुद्ध संघर्ष अघि बढाउने घोषणा गरेका छन्। ललितपुरको झम्सिखेलमा २०८२ साल पौष ५ गते सम्पन्न संयुक्त बैठकबाट ‘संयुक्त जेन जि आन्दोलन समिति’ गठन गर्दै आन्दोलनलाई संस्थागत रूप दिइएको हो।

बैठकमा देशका विभिन्न जिल्लाबाट आएका १०० भन्दा बढी जेन जि अभियन्ता, आन्दोलनका क्रममा घाइते भएका युवा तथा शहीद परिवारका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले आन्दोलनलाई अझ सशक्त र प्रभावकारी बनाउने उद्देश्यले कार्यकारी समिति विस्तार गर्ने निर्णय गरेका छन्।
सो क्रममा मिरज ढुंगाना, अजय सोडारी, सुनिल सिंह, विजय शाह र सुरेन्द्र घर्तीलाई कार्यकारी जिम्मेवारी प्रदान गरिएको छ। आन्दोलनलाई वैचारिक र रणनीतिक मार्गदर्शन दिने सल्लाहकारका रूपमा रवि किरण हमाल र हरिस भट्ट रहने निर्णय पनि बैठकले गरेको छ।
बैठकले वर्तमान सरकारले जेन जि आन्दोलनका मूल मूल्य, बलिदान र जनअपेक्षालाई बेवास्ता गर्दै आएको निष्कर्ष निकालेको छ। सहभागी अभियन्ताहरूले आन्दोलनका उपलब्धिलाई संस्थागत गर्नुको सट्टा सरकारले दमन, षड्यन्त्र र जेन्जी विद्रोहलाई कमजोर पार्ने प्रयास गरिरहेको आरोप लगाए।
यही पृष्ठभूमिमा बैठकले वर्तमान सरकार अपदस्त गर्दै सर्वपक्षीय सहमतिमा नयाँ सरकार गठन गर्नुपर्ने र देशको दीर्घकालीन राजनीतिक समस्याको समाधानका लागि संविधान पुनर्लेखन अपरिहार्य रहेको धारणा सार्वजनिक गरेको छ।

संयुक्त जेन जि आन्दोलन समितिले सरकारविरुद्धको सडक संघर्षलाई थप सशक्त बनाउने निर्णयसमेत गरेको छ। सोही निर्णयअनुसार आन्दोलनका आगामी कार्यक्रम र राजनीतिक एजेन्डा सार्वजनिक गर्न भोलि दिउँसो १ बजे काठमाडौँको डिल्लीबजारस्थित भोजन गृहमा पत्रकार सम्मेलन आयोजना गरिने जेन जि अगुवा विजय शाहले जानकारी दिएका छन्।
पत्रकार सम्मेलनमार्फत सडकमा रहेका सबै जेन जि अभियन्ता, आन्दोलनका घाइते तथा शहीद परिवारलाई एउटै आन्दोलनमा एकताबद्ध गर्दै देशव्यापी प्रदर्शनको रूपरेखा सार्वजनिक गरिने बताइएको छ। समितिले स्पष्ट पारेको छ कि यो संघर्ष कुनै व्यक्ति वा दलविरुद्ध नभई असफल शासन प्रणाली, राजनीतिक स्वार्थ र जनभावनाविपरीत उभिएको राज्यसत्ताविरुद्ध केन्द्रित छ।














