हेटौंडामा दागाची एप सार्वजनिक : कोरियामा रहेका तथा जाने तयारीमा रहेका विदेशी नागरिकका लागि एआई आधारित बहुभाषिक डिजिटल सहायक

हेटौंडा,पुस १२ गते । हेटौंडा मानसचोकस्थित डाँफे पार्टी प्यालेसमा आज आयोजित पत्रकार सम्मेलनमार्फत दागाची (Dagachi) एपबारे विशेष जानकारी गराइएको छ। उक्त पत्रकार सम्मेलनमा नेपालका लागि दागाची एपका प्रतिनिधि माधव सापकोटाले एपको उद्देश्य, विशेषता तथा दीर्घकालीन योजनाबारे उपस्थित पत्रकारहरूलाई विस्तृत जानकारी गराएका थिए।

सापकोटाका अनुसार दागाची एप एआई (Artificial Intelligence) प्रविधिमा आधारित बहुभाषिक सूचना तथा सञ्चार प्लेटफर्म हो। यस एपको मुख्य उद्देश्य कोरियामा कार्यरत तथा भविष्यमा कोरिया जाने तयारीमा रहेका विदेशी नागरिकहरूले भाषागत अवरोधबिना सही, विश्वसनीय र सूचना–आधारित जानकारी सहज रूपमा प्राप्त गर्न सकून् भन्ने रहेको छ।

वर्तमान अवस्थामा कोरियामा रहेका विदेशी कामदार, विद्यार्थी तथा नवागन्तुकहरूले भाषागत समस्या, सरकारी सूचना र नीति–नियम बुझ्न कठिनाइ, रोजगारी र आवास खोज्न समस्या, कानुनी प्रक्रिया तथा अधिकारबारे जानकारीको अभाव, साथै आपत्कालीन अवस्थामा सही निर्णय लिन नसक्ने जस्ता चुनौतीहरू भोग्दै आएको उल्लेख गर्दै सापकोटाले यिनै समस्यालाई व्यावहारिक रूपमा समाधान गर्ने उद्देश्यका साथ दागाची एप विकास गरिएको बताए।

दागाची एपमार्फत हाल १६ भन्दा बढी भाषामा सूचना सेवा उपलब्ध रहेको जानकारी दिँदै उनले श्रम, भिसा, स्वास्थ्य, कानुनी विषय, जागिर तथा घरकोठा खोजी, विश्वविद्यालय भर्ना, दैनिक जीवनसँग सम्बन्धित जानकारी, आपत्कालीन सहायता तथा सुरक्षासम्बन्धी सूचना सहज रूपमा लिन सकिने बताए। एप एआई आधारित, सुरक्षित तथा प्रयोगकर्ता–मैत्री प्रणालीमा आधारित रहेको पनि उनको भनाइ थियो।

उनले दागाची एपलाई केवल सूचना प्रदान गर्ने माध्यममा सीमित नराखी विदेशी नागरिकहरूको लागि विश्वासिलो डिजिटल सहायकका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य रहेको उल्लेख गरे। साथै नेपालमा रहेका विदेशी नागरिकहरूले पनि भाषा, समाजसेवा, स्वास्थ्य, कानुनी अवसर तथा आर्थिक गतिविधिसम्बन्धी जानकारी आफ्नै मातृभाषामा सहज रूपमा बुझ्न सकून् भन्ने उद्देश्यसमेत यस एपले समेटेको बताए।

त्यसैगरी उद्यमशील नेपाली नागरिकहरूले दागाची एपमार्फत आफ्ना सेवा, उत्पादन तथा व्यावसायिक सम्भावनालाई अन्तर्राष्ट्रिय बजारसम्म विस्तार गर्न सकून् भन्ने अपेक्षा पनि यस एपले लिएको सापकोटाले बताए। यस अर्थमा दागाची एप विद्यार्थी, सञ्चारकर्मी, पर्यटक, व्यवसायी, रोजगारी प्रदान गर्ने संस्था, घरधनी तथा सर्वसाधारण सबैका लागि बहुउपयोगी डिजिटल प्लेटफर्मका रूपमा विकास हुँदै गएको जानकारी गराइयो।

आगामी दिनहरूमा समयअनुसार नयाँ–नयाँ फिचरहरू थपिँदै जाने र त्यसबारे औपचारिक रूपमा जानकारी गराइने पनि उनले बताए। हालै एमओयु भएका संस्थाहरूलाई दागाची एपमा भेरिफाइड ब्याज उपलब्ध गराउने तथा सब्सक्रिप्सन सेवा प्रयोग गर्न मिल्ने सुविधा कार्यान्वयनमा ल्याइसकेको जानकारी पनि पत्रकार सम्मेलनमार्फत गराइयो।

कोरिया लगायत विभिन्न मुलुकका प्रमुख समाचार तथा सन्दर्भ सामग्रीहरू नेपाली भाषामा उपलब्ध गराउने व्यवस्था गरिएको जनाउँदै यसले समाचार संकलन र विश्लेषणमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरियो। यसले सञ्चारकर्मीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा भइरहेका प्रमुख विषयहरू सहज रूपमा जानकारी लिन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

पत्रकार सम्मेलनपछि सापकोटाले उपस्थित पत्रकारहरूको जिज्ञासाको जवाफ दिँदै सबै सञ्चारकर्मी मित्रप्रति हार्दिक धन्यवाद व्यक्त गरे।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष हरि हुमागाईं, जिल्ला अध्यक्ष बालकृष्ण अधिकारी, उपाध्यक्षहरू ध्रुव अधिकारी र जमुना थिङ, साथै सन्देश थिङ, सशान्त तामाङ, भावना रिजाल लगायत विभिन्न सञ्चारमाध्यमका पत्रकारहरूको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन भने पत्रकार रूपक कालिराजले गरेका थिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.