हेटौंडा, माघ २ गते । हेटौंडा । शिक्षा, स्वास्थ्य र खेलकुदलाई प्राथमिकतामा राख्ने उद्देश्यसहित तेस्रो वडास्तरीय खेलकुद महोत्सव–२०८२ अन्तर्गत नगरस्तरीय छात्र भलिवल प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ। आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय, हेटौंडा–४ को परिसरमा आयोजना गरिएको प्रतियोगिताको नगर प्रमुख मीना कुमारी लामाले औपचारिक उद्घाटन गरेको हो।
हेटौंडा उपमहानगरपालिका–४ नम्बर वडाको आयोजनामा, शैक्षिक गुणस्तर सुधार समिति हेटौंडा–४ को संयोजन तथा आधुनिक राष्ट्रिय माविको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन भइरहेको छ। प्रतियोगितामा नगरभित्रका १४ वटा विद्यालयका छात्र टिमहरूले सहभागिता जनाएका छन्।
प्रतियोगिता संयोजक राजाराम पोखरेलका अनुसार माघ २ र ३ गतेसम्म चल्ने यस भलिवल प्रतियोगिताले विद्यार्थीहरूमा खेल भावना विकास गर्नुका साथै शारीरिक र मानसिक स्वास्थ्य सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
उद्घाटन समारोह ४ नम्बर वडा अध्यक्षको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा ११ नम्बर वडा अध्यक्ष जुना दाहाल, आधुनिक राष्ट्रिय माविका प्रधानाध्यापक रामसागर गुरागाईं, श्रमिक माविका प्रधानाध्यापक श्रीराम दाहाल, शिक्षक कृष्णगोपाल श्रेष्ठलगायतको उपस्थिति रहेको थियो। कार्यक्रम आधुनिक राष्ट्रिय मावि व्यवस्थापन समितिका अध्यक्ष समीम महोमदको अध्यक्षतामा सम्पन्न भएको हो।














