हेटौंडा, माघ ५ गते । सामाजिक अभियन्ता तथा अध्यक्ष विशाल राज महतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उम्मेदवार छनोट प्रक्रियाप्रति गम्भीर प्रश्न उठाउँदै वैकल्पिक राजनीतिको नाममा पुरानै प्रवृत्ति दोहोरिएको आरोप लगाएका छन्।
आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको लामो स्टाटसमा महतले मानव जातिको विवेक र चेतनालाई स्वार्थ, शक्ति पूजा र दास मानसिकताले ढाक्दै लगेको उल्लेख गरेका छन्। संगठनभित्र रहेर गलतलाई गलत भन्न सक्ने संस्कार हराउँदै जाँदा देशभर अनियमितता, भ्रष्टाचार र बेथिति क्यान्सरझैँ फैलिएको उनको भनाइ छ।
उनले आफू वैकल्पिक भएको दाबी गर्ने रास्वपाले उम्मेदवार छनोटमा व्यापक चलखेल गरेको आरोप लगाउँदै अवसरवादी र माननीय पदलाई सेवाभन्दा लाभको साधन ठान्ने व्यक्तिहरूलाई टिकट दिइएको बताएका छन्। मकवानपुर जिल्लामा नजिकबाट देखिएको यथार्थ यही भएको दाबी गर्दै पार्टीभित्रका सदस्यहरू बधाई दिन हतारिएको दृश्यले शक्तिपूजक र दास मानसिकता झल्किएको टिप्पणी गरेका छन्।
“वैकल्पिक हुन बहस चाहिन्छ, फरक मत राख्ने साहस चाहिन्छ,” महतले लेखेका छन्, “यदि पार्टीभित्र आलोचना निषेध छ भने अरूलाई ‘झोले’ भन्ने नैतिक अधिकार कसैसँग हुँदैन।”
उनले मकवानपुरमा गलत चरित्र र गलत प्रवृत्ति हाबी हुँदै गएको भन्दै जनताले फेरि झुक्किने जोखिम बढेको उल्लेख गरेका छन्। अब निर्णय भावनाले होइन, विवेकले गर्नुपर्नेमा जोड दिँदै उनले विवेकलाई भिड, हुल र पार्टीको नाममा बन्दक नबनाउन आग्रह गरेका छन्।
“नाम नयाँ हुँदैमा चरित्र पनि नयाँ हुन्छ भन्ने ग्यारेन्टी हुँदैन,” भन्दै महतले आफू विवेक बन्धक नबनाउने, नाफा–घाटाको हिसाब नगर्ने र सेवा, सहयोग तथा आवाजमै उभिरहने स्पष्ट पारेका छन्।














