बकैया कला–साहित्यको केन्द्र बन्दै : सातौँ बकैया–कला साहित्य महोत्सव–२०८२ फागुन ५ र ६ मा

हेटौँडा, माघ १७ गते । झरना साहित्यिक परिवार मकवानपुरले आफ्नो ३२३ औँ साहित्य शृङ्खला तथा ३३ औँ वार्षिक उत्सवको अवसर पारेर सातौँ बकैया–कला साहित्य महोत्सव–२०८२ आयोजना गर्ने भएको छ । महोत्सवको पूर्वसन्ध्यामा संस्थाले २०८२ माघ १७ गते पुष्पलाल पार्क नजिकै पत्रकार सम्मेलन आयोजना गर्दै कार्यक्रमको विस्तृत जानकारी सार्वजनिक गरेको हो ।

फागुन ५ र ६ गते महेन्द्र माध्यमिक विद्यालय, बकैया–४, मकवानपुरमा सञ्चालन हुने महोत्सव बकैया गाउँपालिकाको प्रायोजन तथा महेन्द्र माविको सहकार्यमा हुन लागेको हो । पत्रकार सम्मेलनमा झरना साहित्यिक परिवार मकवानपुरकी अध्यक्ष गायत्री रूपाखेती, उपाध्यक्ष कृष्ण घतानी र सचिव नीलहरि ढुङ्गेलको उपस्थिति रहेको थियो ।

महोत्सवका क्रममा साहित्य, कला र संस्कृतिको बहुआयामिक प्रस्तुति रहने आयोजकले जनाएको छ । पुरस्कार समर्पण, चित्रकला प्रदर्शनी, पत्रिका विमोचन, विभिन्न जातजातिका मौलिक नृत्य, ‘बकैयाको काव्य महक’, समकालीन गजल–मुक्तक उत्सव, समकालीन काव्य उत्सव, सम्मानित स्रष्टा तथा नवसर्जकको रचना वाचन लगायत कार्यक्रमहरू महोत्सवका मुख्य आकर्षण हुनेछन् । साथै ‘पालिका अध्यक्षलाई ७ प्रश्न’ कार्यक्रममार्फत स्थानीय शासन र साहित्यबीचको संवादलाई समेत जोड्ने प्रयास गरिनेछ ।

यसै अवसरमा झरना साहित्यिक परिवार मकवानपुरले विभिन्न विधामा उल्लेखनीय योगदान पुर्‍याएका स्रष्टा, कलाकार र पत्रकारलाई ११ वटा प्रतिष्ठित पुरस्कार तथा सम्मान प्रदान गर्ने घोषणा गरेको छ ।

साहित्यमा दीर्घ योगदान पुर्‍याएबापत प्रदान गरिने होमनाथ–टीकामाया प्रतिभा सम्मान–२०८२ पाँचथरका रमेश शुभेच्छुकलाई प्रदान गरिनेछ । मुक्तक विधामा योगदानका लागि शिव–सावित्री अधिकारी स्मृति मुक्तक सम्मान–२०८२ रुकुम पश्चिमका कर्णबहादुर खत्रीलाई प्रदान गरिने भएको छ । जिल्लामा साहित्यिक संस्था स्थापना र जगेर्नामा योगदान पुर्‍याएबापत बाबुलाल–भोजमाया स्मृति साहित्य सम्मान–२०८२ मकवानपुरका डा. निमेष निखिललाई अर्पण गरिनेछ ।

युवा साहित्यकार तर्फ खडानन्द–मनमाया प्रतिभा सम्मान–२०८२ नेपालगञ्जकी ऋचा लुइटेललाई प्रदान गरिनेछ भने मकवानपुरकी साहित्यकार संगीता थापालाई सुशीला दङ्गाल स्मृति सिर्जनशील नारी सम्मान–२०८२ प्रदान गरिनेछ । त्यस्तै, साहित्यसेवी डा. अर्पण पराजुलीले सञ्जीवन (बुटी) साहित्य सम्मान–२०८२ प्राप्त गर्नेछन् ।

पत्रकारिता मार्फत संस्थाको प्रचार-प्रसारमा योगदान पुर्‍याएबापत मकवानपुरका दीपक अधिकारीलाई गोकर्ण गौतम स्मृति पत्रकारिता सम्मान–२०८२ प्रदान गरिने भएको छ । बकैयाका नवप्रतिभातर्फ बुद्ध मावि, हात्तीसुढेकी मोनिका नेगीलाई झरना–बकैया नवप्रतिभा पुरस्कार–२०८२ प्रदान गरिनेछ ।

कलाक्षेत्र तर्फ योगदान गरेबापत खिमबहादुर खत्री स्मृति कलाकारिता सम्मान–२०८२ मकवानपुरका सूर्य सन्यासीलाई प्रदान गरिनेछ भने छन्द कवितामा योगदानका लागि ऋषेश्वर–रुक्मिणी–लक्ष्मीदेवी खनाल साहित्य सम्मान–२०८२ भैरहवाकी सिर्जना खनाललाई प्रदान गरिनेछ ।

यस वर्षदेखि नवस्थापित ‘कुलकुमारी झलकनाथ लोक साहित्य सम्मान–२०८२’ साहित्यकार तथा लोकगायक बझाङका नन्दकृष्ण जोशीलाई प्रदान गरिने आयोजकले जनाएको छ ।

झरना साहित्यिक परिवार मकवानपुरले आयोजना गर्दै आएको बकैया–कला साहित्य महोत्सवले साहित्य, कला र स्थानीय संस्कृतिलाई एकै थलोमा जोड्दै बकैया क्षेत्रलाई सिर्जनाको केन्द्रका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको आयोजकको विश्वास छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.