मुम्बई, माघ २५ गते । मुम्बईको वानखेडे स्टेडियम आज नेपाली क्रिकेटका लागि ऐतिहासिक मञ्च बन्दैछ। आईसीसी टी–२० विश्वकप अन्तर्गत समूह ‘सी’ को खेलमा नेपाल र इङ्ग्ल्यान्ड आमनेसामने हुँदैछन्। नेपाली समयअनुसार दिउँसो ३:१५ बजे सुरु हुने यस खेलमार्फत नेपालले इङ्ग्ल्यान्डसँग कुनै पनि फर्म्याटमा पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो।
आजकै अन्य खेलहरूमा बिहान ११:१५ बजे समूह ‘डी’ का अफगानिस्तान र न्युजिल्यान्ड भिड्नेछन् भने राति ७:१५ बजे समूह ‘बी’ अन्तर्गत श्रीलंका र आयरल्यान्डबीच खेल हुने तालिका छ।
नेपालको विश्वकप यात्रा सम्झँदा सन् २०१४ को बंगलादेश संस्करण उल्लेखनीय रह्यो। त्यस विश्वकपमा अफगानिस्तान र हङकङलाई पराजित गरे पनि रनरेटका कारण नेपाल सुपर–१० चरणमा पुग्न सकेन। त्यसयता १० वर्षपछि सन् २०२४ को विश्वकपमा पुनरागमन गरेको नेपालले दक्षिण अफ्रिकासँग १ रनको झिनो हार बेहोरेको थियो भने बंगलादेशसँग २१ रनले पराजित भयो। श्रीलंकासँगको खेल भने वर्षाका कारण रद्द हुन पुग्यो।
तेस्रो पटक टी–२० विश्वकप खेल्दै गरेको नेपाल टोलीको कप्तानी रोहित पौडेलले सम्हालेका छन्। १५ सदस्यीय नेपाली टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, लोकेश बम, आरिफ शेख, करण केसी, शेर मल्ल र बसिर अहमद रहेका छन्।
समूह ‘सी’ मा रहेको नेपालले यस विश्वकपका सबै खेलहरू वानखेडे स्टेडियममै खेल्नेछ। आजको इङ्ग्ल्यान्डविरुद्धको खेलपछि नेपालले फेब्रुअरी १२ मा इटाली, फेब्रुअरी १५ मा वेस्ट इन्डिज र फेब्रुअरी १७ मा स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्ने कार्यक्रम छ।
इङ्ग्ल्यान्डजस्तो शक्तिशाली टोलीविरुद्धको आजको खेल नेपालका लागि चुनौतीपूर्ण भए पनि इतिहास रच्ने अवसरका रूपमा हेरिएको छ। नेपाली समर्थकहरू वानखेडेमा हुने यस ऐतिहासिक भिडन्ततर्फ उत्सुकताका साथ प्रतीक्षा गरिरहेका छन्।














