हेटौँडा,बैशाख ७ गते । जेन जी जन–आन्दोलनको मूल मर्म—सुशासन, संस्थागत सुधार तथा भ्रष्टाचारप्रति शून्य सहनशीलताको सिद्धान्तलाई आत्मसात गर्दै जेन जी रिभोलुशन नेपालले हालै सार्वजनिक भएका संवेदनशील समाचारप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ।
विभिन्न सञ्चारमाध्यमहरूमा “गृहमन्त्रीज्यूको बिचौलियाहरूसँगको कनेक्सन” सम्बन्धी प्रकाशित सामग्रीप्रति संगठनले चासो व्यक्त गर्दै यस्ता विषयमा सत्य, तथ्य र प्रमाणमा आधारित निष्पक्ष, पारदर्शी र विश्वसनीय छानबिन अपरिहार्य रहेको बताएको छ।
यसै सन्दर्भमा जेनजी रिभोलुशन नेपालका प्रबक्ता राहुल कुमार झाले माननीय गृहमन्त्री सुदन गुरुङलाई सम्बोधन गर्दै सम्बन्धित निकायहरूलाई कुनै पनि प्रकारको दबाब, प्रभाव वा हस्तक्षेपविना स्वतन्त्र र प्रभावकारी रूपमा अनुसन्धान प्रक्रिया अघि बढाउन आवश्यक वातावरण सुनिश्चित गर्न आग्रह गरेका छन्। साथै उनले छानबिन कार्यमा पूर्ण सहयोग पुर्याउन पनि अनुरोध गरेका छन्।
संगठनले विधिको शासन, पारदर्शिता, जवाफदेहिता र निष्पक्षता कायम भएमा मात्र जन–आन्दोलनले परिकल्पना गरेको सुशासनको लक्ष्य हासिल गर्न सकिने विश्वास व्यक्त गरेको छ। त्यसैले राज्यका सम्पूर्ण निकायहरूलाई जिम्मेवार, उत्तरदायी र व्यावसायिक ढंगले आफ्नो कर्तव्य निर्वाह गर्न आग्रह गरिएको छ।
जेनजी रिभोलुशन नेपालले सत्य, न्याय र सुशासनको पक्षमा सधैं अडिग रहने प्रतिबद्धता दोहोर्याउँदै आवश्यक परे सम्बन्धित निकायहरूसँग सहकार्य गर्न तयार रहेको जनाएको छ। साथै जेनजी जन–आन्दोलनका मूल्य, मान्यता र उपलब्धिहरूको संरक्षण तथा प्रवर्द्धनका लागि सबै सरोकारवालाहरूलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरिएको छ।
जेन जी रेभोलुशन नेपालको विज्ञप्ति यस्तो छ हेर्नुहोस् ।















