हेटौँडा, वैशाख १० गते । पर्शा राष्ट्रिय निकुञ्ज को मध्यवर्ती क्षेत्रमा पर्ने हेटौंडा उपमहानगरपालिका, जितपुर सिमरा उपमहानगरपालिका, मनहरी गाउँपालिका र ठोरी गाउँपालिका लाई समेटेर पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले स्थानीय तहहरूबीच समन्वयात्मक बैठक सम्पन्न भएको छ।

बैठकमा हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा, जितपुर सिमराका प्रमुख राजन पौडेल, मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेती तथा ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठ लगायतको सहभागिता रहेको थियो।

बैठकमा पर्शा राष्ट्रिय निकुञ्जलाई आकर्षक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने, आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढाउने, पूर्वाधार विस्तार गर्ने तथा स्थानीय समुदायलाई पर्यटनसँग जोड्ने विषयमा विस्तृत छलफल गरिएको थियो।

यस क्रममा सहभागी स्थानीय तहबीच आपसी समन्वय गर्दै पर्यटन विकासका सम्भावित योजना, संरक्षण र व्यवस्थापनका उपाय तथा दीर्घकालीन रणनीति निर्माणका विषयमा सहमति जुटाइएको बताइएको छ। निकुञ्ज क्षेत्रको जैविक विविधता संरक्षणसँगै आर्थिक अवसर सिर्जना गर्ने लक्ष्यका साथ आगामी दिनमा संयुक्त पहल अघि बढाउने निर्णय समेत गरिएको छ।
प्रतिकृया दिनुहोस्
Post Views: 25














