“विकासका लागि कठोर निर्णय आवश्यक: सुकुमबासी व्यवस्थापनसहित संरचित शहर निर्माणमा सरकारको जोड”

हेटौडा,बैशाख २० गते । हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले हाल देशभर चर्चामा रहेको सुकुम्बासी बस्ती हटाउने विषयमा आफ्नो धारणा सार्वजनिक गर्दै विकासका लागि कहिलेकाहीँ कठोर निर्णय आवश्यक हुने बताएकी छन्। उनले सामाजिक सञ्जाल फेसबुक मार्फत व्यक्त गरेको विचारमा विकासको प्रारम्भ क्रूर देखिन सक्ने भए पनि अन्ततः त्यसले सुन्दर र दीर्घकालीन संरचना निर्माण गर्ने उल्लेख गरेकी छन्।

उनले सुकुम्बासी बस्तीमा डोजर प्रयोग गरिँदा देखिएको पीडा र नागरिकको क्रन्दनप्रति संवेदनशीलता व्यक्त गर्दै यस्तो प्रक्रिया मानवीय रूपमा पीडादायी भए पनि दीर्घकालीन विकासको दृष्टिले आवश्यक हुन सक्ने बताइन्। उनका अनुसार भग्नावशेषपछि निर्माण हुने पार्क, सडक विस्तार तथा नदी किनारको व्यवस्थापनले शहरलाई व्यवस्थित र आकर्षक बनाउनेछ।

प्रमुख लामाले बालेन्द्र शाह (बालेन शाह) को नेतृत्व क्षमता, फरक सोच र साहसिक निर्णय क्षमताको प्रशंसा गर्दै देश निर्माणमा उनको योगदान उल्लेखनीय रहेको धारणा राखिन्। उनले वर्तमान समयले पनि यस्तो नेतृत्वलाई साथ दिइरहेको बताइन्।

साथै, उनले सुकुम्बासी नागरिकहरूलाई अपमानजनक तरिकाले आलोचना नगर्न आग्रह गर्दै धेरै नागरिक परिस्थितिवश सार्वजनिक जग्गामा बस्न बाध्य भएको उल्लेख गरिन्। उनीहरूले पनि समाजकै हिस्सा भएकाले उनीहरूको सम्मान र अधिकारको संरक्षण गर्नुपर्नेमा जोड दिइन्।

प्रमुख लामाले सरकारद्वारा विस्थापित सुकुम्बासीहरूको उचित व्यवस्थापन गरिने विश्वास व्यक्त गर्दै उनीहरूलाई अलपत्र पार्नु नहुने स्पष्ट पारिन्। उनले विगतमा माइतीघर मण्डला, शान्ति बाटिका र पशुपति क्षेत्र मा भएका संरचनागत परिवर्तनहरू उदाहरणका रूपमा प्रस्तुत गर्दै विनाशपछि आउने विकासले शहरको स्वरूप परिवर्तन गरेको बताइन्।

उनले नागरिकहरूलाई विकासका कार्यमा सहयोग गर्न आग्रह गर्दै व्यक्तिगत स्वार्थभन्दा दीर्घकालीन राष्ट्रिय हितलाई प्राथमिकता दिनुपर्ने बताइन्। “देश एक पुस्ताका लागि मात्र होइन, अनन्त पुस्ताका लागि सुन्दर र समृद्ध हुनुपर्छ,” उनले लेखेकी छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.