सिन्धुली,जेठ १२ गते। हरिहरपुरगढी गाउँपालिकाले बजार व्यवस्थापन र उपभोक्ता हित संरक्षणलाई लक्षित गर्दै चैनपुर, रतनपुर तथा गुर्जी बजार क्षेत्रमा आज छड्के बजार अनुगमन गरेको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णहरि न्यौपानेको नेतृत्वमा गरिएको अनुगमनका क्रममा विभिन्न पसलहरूमा म्याद गुज्रिएका खाद्य सामग्री बिक्रीका लागि राखिएको भेटिएपछि ती सामग्री जफत गरी नष्ट गरिएको गाउँपालिकाले जनाएको छ।
अनुगमन टोलीले चामल, भुजा, चाउचाउ, बिस्कुटलगायत उपभोग्य वस्तुहरूको म्याद सकिएको अवस्थामा बिक्रीका लागि राखिएको फेला पारेको थियो। साथै कतिपय पसल दर्ताविना सञ्चालन गरिएको, मूल्यसूची नराखिएको तथा होर्डिङ बोर्डसमेत नदेखिएको पाइएको जनाइएको छ।
प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार रहने विषयमा लापरवाही नगर्न व्यवसायीहरूलाई चेतावनी दिएका छन्। उनले आगामी दिनमा पुनः म्याद नाघेका सामग्री बिक्रीका लागि राखिएको पाइए कानुनअनुसार कडा कारबाही गरिने स्पष्ट पारे।
उनले सबै व्यवसायीलाई अनिवार्य रूपमा पसल दर्ता गर्न, मूल्यसूची राख्न, खरिद–बिक्रीको बिल व्यवस्थित गर्न तथा पसलमा होर्डिङ बोर्ड राख्न निर्देशन दिएका छन्। गाउँपालिकाले आगामी दिनमा पनि नियमित बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ।














