डुम्रे,जेठ १६ गते। मकवानपुरको कैलाश गाउँपालिका–७ डुम्रेमा गत जेठ १२ गते आएको भीषण हावाहुरीबाट प्रभावित परिवारहरूले अझैसम्म प्रभावकारी राहत नपाएको गुनासो गरेका छन्। हावाहुरीले घरमा ठूलो क्षति पुर्याएपछि केही परिवार खुला आकाशमुनि तथा अस्थायी टहरामा बस्न बाध्य भएका छन्।

स्थानीय रामकुमार चेपाङ र भाईचा चेपाङसहितका परिवारका घरहरू हावाहुरीले उडाएर क्षति पुर्याएको बताइएको छ। घरमा बस्न नसकिने अवस्था भएपछि उनीहरू सुरक्षित आश्रयको खोजीमा छन्। तर घटना भएको एक साताभन्दा बढी समय बितिसक्दा पनि सम्बन्धित निकायबाट पर्याप्त राहत तथा पुनर्स्थापनाको पहल नभएको पीडितहरूको भनाइ छ।

स्थानीयका अनुसार घटनापछि तत्काल वडा कार्यालयमा जानकारी गराइएको थियो। त्यसक्रममा राहत वितरण तत्काल सम्भव नभएको जानकारी दिइएको भए पनि हालसम्म प्रभावित परिवारसम्म कुनै ठोस राहत पुगेको छैन। पीडितहरूको अवस्था बुझ्नसमेत सम्बन्धित निकायबाट प्रभावकारी चासो नदिइएको स्थानीयहरूको आरोप छ।

वर्षायाम सुरु भइसकेको अवस्थामा घरविहीन बनेका परिवारहरू अस्थायी टहरामा वा खुला आकाशमुनि बस्न बाध्य हुनु चिन्ताको विषय बनेको छ। स्थानीयवासीहरूले विपद्को समयमा नागरिकहरू समस्यामा पर्दा वडा कार्यालय र गाउँपालिका मौन बसेको भन्दै प्रश्न उठाएका छन्।
प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापना स्थानीय सरकारको प्रमुख दायित्व भए पनि डुम्रेका पीडितहरूले अझैसम्म राहतको अनुभूति गर्न नसकेको अवस्था देखिएको छ। यसले स्थानीय तहको विपद् व्यवस्थापन तथा राहत वितरण प्रणालीको प्रभावकारितामाथि समेत प्रश्न खडा गरेको छ।
पीडित परिवारहरूले सम्बन्धित गाउँपालिका, जिल्ला प्रशासन कार्यालय तथा सरोकारवाला निकायसँग तत्काल राहत उपलब्ध गराउन, अस्थायी आवासको व्यवस्था गर्न तथा क्षतिको निष्पक्ष मूल्याङ्कन गरी आवश्यक सहयोग प्रदान गर्न माग गरेका छन्। डुम्रेका हावाहुरी पीडितहरू अहिले पनि राज्यको ध्यान र सहयोगको प्रतीक्षामा रहेका छन्।














