हेटौँडा,जेठ १६ गते। नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाको अध्यक्षमा उत्सव इटेनी पुनः निर्विरोध निर्वाचित भएका छन्। सङ्घको शनिबार हेटौँडामा सम्पन्न १४औँ वार्षिक साधारणसभा तथा अधिवेशनले इटेनीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा ठाकुर भट्टराई, उपाध्यक्षमा दीपेन्द्र बर्तौला, सचिवमा विष्णुहरि पण्डित, सहसचिवमा उत्तम खड्का तथा कोषाध्यक्षमा रामजी कोइराला चयन भएका छन्। सदस्यहरूमा रामेश्वर श्रेष्ठ, अभिषेक बर्तौला, राजु बिडारी र मनोजकुमार शाह रहेका छन् भने किशोर शर्मा कँडेल पदेन सदस्य रहनेछन्।
साधारणसभाका अवसरमा सङ्घले मकवानपुरका पत्रकार राममणि दाहाल र प्रताप विष्टलाई सम्मान गरेको छ। जिल्लाको आर्थिक तथा सामाजिक विकासमा पत्रकारिता मार्फत योगदान पुर्याएको भन्दै दाहाललाई ‘राजन थापा स्मृति पत्रकारिता पुरस्कार’ र विष्टलाई ‘बलराम दास स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरिएको हो। नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रसाद प्रधानले दुवै पत्रकारलाई जनही ११ हजार १११ रुपैयाँ नगदसहित सम्मान गरेका थिए।
कार्यक्रम उद्घाटन गर्दै प्रधानले पेट्रोलियम पदार्थको कारोबार अत्यावश्यक सेवाअन्तर्गत पर्ने भएकाले पेट्रोल पम्प २४सै घण्टा सञ्चालनमा रहने व्यवस्थाअनुसार निगमका डिपोहरू पनि नियमित सञ्चालन हुनुपर्ने आवश्यकता औँल्याए।
नेपाल आयल निगम मधेश प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख अशोक शाहले चुनौतीपूर्ण परिस्थितिका बीच पनि निगमले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापनलाई निरन्तरता दिएको बताए। उनले पेट्रोलियम पदार्थ निजी सवारीमार्फत ढुवानी गर्न सकिने जानकारी पनि दिए।
नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका महासचिव विश्वप्रसाद अर्यालले हाल पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या नरहेको उल्लेख गर्दै लगानी र जोखिमका आधारमा व्यवसायीले उचित मुनाफा पाउनुपर्ने धारणा राखे।
चितवन पेट्रोलियम डिलर्स एसोसिएसनकी अध्यक्ष शर्मिला सेढाईले सूचना प्राप्त गर्ने अधिकार सबैको भएकाले नेपाल आयल निगमले पारदर्शिता कायम राख्नुपर्ने बताइन्।
सङ्घका अध्यक्ष उत्सव इटेनीको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोदसिंह रानाभाट, नारायणी यातायात व्यवसायी सङ्घका अध्यक्ष हिरालाल श्रेष्ठ, पूर्वअध्यक्ष सिद्धिलाल श्रेष्ठ, सल्लाहकार ढुण्डीराज उप्रेती, बागमती पेट्रोलियम विक्रेता सङ्घका अध्यक्ष अच्युत खड्का तथा रौतहट पेट्रोलियम विक्रेता सङ्घका अध्यक्ष महेश दासलगायतले मन्तव्य व्यक्त गरेका थिए।














