हेटौँडा,जेठ १६ गते। सामाजिक अभियन्ता तथा ‘सेवा सहयोग र आवाज’ का अध्यक्ष विशालराज महतले हेटौँडाको ऐतिहासिक हुप्राचौरलाई खुला सार्वजनिक स्थलका रूपमा संरक्षण गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।
सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो विचार सार्वजनिक गर्दै महतले हुप्राचौर केवल खुला चौर मात्र नभई हेटौँडाको साझा सम्पत्ति, सामाजिक गतिविधिको केन्द्र तथा विपद् व्यवस्थापनका लागि महत्वपूर्ण स्थल भएको बताएका छन्।
उनले २०७२ सालको विनाशकारी भूकम्पका बेला हजारौँ नागरिकलाई आश्रय प्रदान गरेको हुप्राचौर आज पनि खेलकुद, सामाजिक कार्यक्रम तथा विभिन्न सार्वजनिक गतिविधिका लागि अपरिहार्य रहेको उल्लेख गरेका छन्।
हाल हुप्राचौरमा क्रिकेट भवन निर्माणका लागि निर्माण सामग्री राखिएको विषयप्रति चिन्ता व्यक्त गर्दै महतले खेलकुद पूर्वाधार विकास आवश्यक भए पनि त्यसका लागि खुला चौरको अस्तित्व नै संकुचित हुने गरी स्थायी संरचना निर्माण गर्नु उपयुक्त नहुने बताएका छन्। एकपटक खुला स्थान स्थायी संरचनाले ढाकिएपछि त्यसलाई पुनः खुला स्वरूपमा फर्काउन कठिन हुने उनको भनाइ छ।
महतले हेटौँडामा क्रिकेट भवन वा अन्य खेलकुद पूर्वाधार निर्माणका लागि वैकल्पिक स्थानको अभाव नरहेको उल्लेख गर्दै पूर्व बासुदेव सभाहल क्षेत्रलगायत अन्य उपयुक्त स्थानलाई योजनाबद्ध रूपमा प्रयोग गर्न सकिने सुझाव दिएका छन्। यसबाट आवश्यक पूर्वाधार निर्माणसँगै हुप्राचौरको खुलापन पनि जोगाउन सकिने उनको धारणा छ।
उनले विकास र संरक्षणलाई एकअर्काका विरोधी विषयका रूपमा नभई सन्तुलित योजना र दूरदृष्टिमार्फत सँगसँगै अघि बढाउन सकिने बताएका छन्।
महतले हुप्राचौरमा कुनै पनि स्थायी संरचना निर्माण अघि व्यापक सार्वजनिक बहस, नगरवासीको राय तथा सर्वपक्षीय सहमति सुनिश्चित गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्। साथै क्रिकेट भवनका लागि उपयुक्त विकल्प खोज्दै हुप्राचौरको ऐतिहासिकता, खुलापन र अस्तित्व जोगाउनुपर्नेमा जोड दिएका छन्।














