त्रिभुवन राजपथ क्षेत्रमा सडक सीमा अतिक्रमण हटाइँदै, जोखिमयुक्त भवन खाली गर्न सडक डिभिजन हेटौडाको आग्रह

हेटौंडा,असार २ गते। सडक डिभिजन कार्यालय हेटौंडाले त्रिभुवन राजपथ अन्तर्गत शिरशिया मितेरी पुलदेखि बहुअरी गण्डक चोकसम्मको सडक क्षेत्रमा रहेका संरचना हटाउन तथा जोखिमयुक्त भवन खाली गर्न अत्यन्त जरुरी सूचना जारी गरेको छ।

डिभिजनले सडकको केन्द्र रेखाबाट दायाँबायाँ २५–२५ मिटर क्षेत्रलाई सडक सीमा कायम गर्दै संरक्षण कार्य २०८३ वैशाख ६ गतेदेखि सुरु गरेको जनाएको छ। सो कार्यका क्रममा केही भवन तथा संरचना क्षतिग्रस्त बने पनि त्यहाँ हालसम्म बसोबास तथा व्यापार व्यवसाय सञ्चालन भइरहेको पाइएको भन्दै कार्यालयले चिन्ता व्यक्त गरेको छ।

डिभिजन प्रमुखद्वारा जारी सूचनामा जोखिमयुक्त भवनहरूमा बसोबास नगर्न र व्यापार व्यवसाय सञ्चालन नगर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ। सूचनाको अवज्ञा गरी कुनै अप्रिय घटना भए त्यसको जिम्मेवारी सम्बन्धित व्यक्ति स्वयंले व्यहोर्नुपर्ने उल्लेख गरिएको छ।

यस्तै, सडक सीमाभित्र बाँकी रहेका संरचनाहरू पाँच दिनभित्र स्वेच्छाले हटाउन पनि कार्यालयले आग्रह गरेको छ। अन्यथा सडक ऐन २०३१ अनुसार सडक सीमा संरक्षण कार्य अन्तर्गत डिभिजन कार्यालयले त्यस्ता संरचना हटाउने जनाएको छ।

सडक डिभिजन हेटौंडाले सडक विस्तार तथा सुरक्षालाई मध्यनजर गर्दै आवश्यक सहयोग गर्न स्थानीयवासी तथा व्यवसायीलाई अनुरोध गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.