“समानता होइन, समताको अवधारणाबाट मात्रै महिला मैत्री शहर सम्भव हुन्छ : मेयर मीना कुमारी लामा”

हेटौंडा, असार ४ गते । हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाले महिला सशक्तीकरण र महिला मैत्री शहर निर्माणका लागि “समानता” भन्दा “समता” को अवधारणालाई व्यवहारमा लागू गर्न आवश्यक रहेको बताएकी छन् ।

सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मेयर लामाले समानताले सबैलाई एउटै व्यवहार गर्ने सिद्धान्त अघि सार्ने भए पनि समताले आवश्यकता, अवस्था र पूर्णताको आधारमा न्याय सुनिश्चित गर्ने उल्लेख गरेकी छन् । उनका अनुसार महिलाको वास्तविक सशक्तीकरणका लागि समताको अभ्यास अपरिहार्य छ ।

उनले महिला र पुरुष दुवै मानव भए पनि शारीरिक बनावट तथा सामाजिक अवस्थाका कारण आवश्यकतामा फरक हुने बताउँदै एउटै मापदण्डले न्याय नदिने स्पष्ट पारेकी छन् । “पुरुषले बोक्न सक्ने १०० केजी भार महिलालाई पनि समानताका आधारमा बोक्न लगाइयो भने महिला मैत्री शहर बन्न सक्दैन,” उनले उल्लेख गरेकी छन् ।

मेयर लामाले महिला मैत्री शहर निर्माणका लागि महिलाको सुरक्षा, सम्मान, सहज पहुँच तथा स्वास्थ्य सेवामा विशेष ध्यान दिनुपर्ने बताएकी छन् । साथै नेपाली महिलाको वर्तमान शैक्षिक अवस्थालाई मध्यनजर गर्दै महिलाको शिक्षाका लागि विशेष योजना आवश्यक रहेको धारणा व्यक्त गरेकी छन् ।

उनका अनुसार हेटौंडा उपमहानगरपालिकाले महिलाको क्षमता, रुचि र आवश्यकतालाई ध्यानमा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । त्यसकै परिणामस्वरूप हेटौंडाका धेरै महिलालाई सफल घरेलु उद्यमी बनाउन सफलता मिलेको उनले बताइन् ।

“साना-साना सपनाबाट काम गरिरहेका छौं । स-साना कामले नै ठूला उपलब्धि हासिल गर्न सकिन्छ भन्ने विश्वास गरेका छौं,” मेयर लामाले भनिन् ।

युएनओपिएस परियोजना र सिटिजन्स एलाएन्ससँगको सहकार्यमा सञ्चालन भइरहेको महिला मैत्री शहर निर्माण अभियानमा सबैलाई जोडिन तथा सहयोग गर्न उनले आग्रह गरेकी छन् । साथै हाल भइरहेको बहसले पनि महिला मैत्री शहर निर्माणका लागि महत्वपूर्ण ‘टुल्स’ का रूपमा काम गर्ने विश्वास व्यक्त गरेकी छन् ।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णप्रति उनले हार्दिक धन्यवाद समेत व्यक्त गरेकी छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.