हेटौँडा,असार ९ गते। तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता–२०८३ को उपाधि काठमाडौंले जितेको छ । बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा सम्पन्न प्रतियोगितामा काठमाडौंले सर्वाधिक ५१ स्वर्ण, ३८ रजत र ४२ कास्य गरी कुल १३१ पदक जित्दै समग्र च्याम्पियन बन्न सफल भएको हो ।
ललितपुरले पनि काठमाडौं बराबर १३१ पदक जिते पनि स्वर्ण पदक कम भएका कारण दोस्रो स्थानमा सीमित रह्यो । ललितपुरले ४६ स्वर्ण, ४१ रजत र ४४ कास्य पदक जितेको छ । चितवन ३० स्वर्ण, २८ रजत र २७ कास्यसहित कुल ८५ पदक जित्दै तेस्रो स्थानमा रह्यो ।
प्रतियोगिताको समापनसँगै विजेता टोलीहरूलाई नगदसहित ट्रफी प्रदान गरिएको थियो । काठमाडौंले १ लाख रुपैयाँ, ललितपुरले ७५ हजार रुपैयाँ तथा चितवनले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
प्रतियोगिताको अन्तिम दिन फुटबलका फाइनल खेल सम्पन्न भएका थिए । महिलातर्फ काठमाडौंले चितवनलाई १–० गोल अन्तरले हराउँदै उपाधि जित्यो । विजेता टोलीका खेलाडीहरूले जनही ५ हजार रुपैयाँ तथा उपविजेता टोलीका खेलाडीहरूले जनही ४ हजार रुपैयाँ प्राप्त गरे ।
महिलातर्फ काठमाडौंकी मनिषा आले मगर उत्कृष्ट खेलाडी घोषित भइन् । उनले नगद २० हजार रुपैयाँ प्राप्त गरिन् । काठमाडौंकै झरना नगरकोटी उत्कृष्ट गोलकिपर, सजिता कोइराला उत्कृष्ट डिफेन्डर तथा देवेन्द्रजंग शाही उत्कृष्ट प्रशिक्षक घोषित भए । चितवनकी सुसिला केसी उत्कृष्ट मिडफिल्डर र प्रतिक्षा ठकुरी उत्कृष्ट फरवार्ड चुनिइन् ।
पुरुषतर्फको उपाधि भने चितवनले जित्यो । गौरीटार रंगशालामा भएको रोमाञ्चक फाइनलमा चितवनले मकवानपुरलाई टाइब्रेकरमा ३–१ ले पराजित गर्दै च्याम्पियन बनेको हो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएको थियो ।
पुरुषतर्फ मकवानपुरका अभिषेक भोलन उत्कृष्ट खेलाडी घोषित भए । चितवनका मनोज गुरुङ उत्कृष्ट गोलकिपर, विकल तामाङ उत्कृष्ट डिफेन्डर, सलिल ढकाल उत्कृष्ट फरवार्ड तथा सुमन श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भए । मकवानपुरका सुजन गुरुङ उत्कृष्ट मिडफिल्डर चुनिए ।
प्रतियोगितामा बागमती प्रदेशका १३ जिल्लाका खेलाडीहरूले सहभागिता जनाएका थिए । १५ खेल विधामा कुल ७४४ पदकका लागि प्रतिस्पर्धा भएको प्रतियोगितामा २ हजार ७०७ खेलाडी सहभागी भएका थिए । खेलहरू हेटौँडा, चितवन, काठमाडौं र ललितपुरका विभिन्न खेलस्थलमा सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
समापन समारोह बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामाको अध्यक्षता तथा प्रदेश सरकारकी युवा तथा खेलकुद मन्त्री उर्मिला नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।














