हेटौडा, असार १४ गते। कर उठाउने विषयमा सरकार सक्रिय देखिए पनि नागरिकप्रति आफ्नो जिम्मेवारी पूरा गर्न सरकार असफल भइरहेको भन्दै सामाजिक अभियान्ता तथा हाम्रो सेवा सहयोग र आवाजका अध्यक्ष विशालराज महतले सरकारको कार्यशैलीमाथि कडा प्रश्न उठाएका छन्।
महतले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेको स्टाटसमा नागरिकबाट विभिन्न शीर्षकमा कर असुल्ने सरकार सेवा प्रवाह, सुरक्षित सडक निर्माण तथा जवाफदेहिताको विषयमा भने मौन रहेको बताएका छन्।
उनले नागरिकले कर तिर्न ढिलाइ गरे जरिवाना र कारबाहीको सामना गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै सरकारले आफ्नै जिम्मेवारी पूरा नगर्दा कसलाई सजाय हुन्छ भन्ने प्रश्न गरेका छन्। पेट्रोल–डिजेलमा पूर्वाधार कर, सडक मर्मत कर तथा हरित कर उठाइए पनि सडकको अवस्था भने दयनीय रहेको उनको भनाइ छ।
“खाल्डाखुल्डीले भरिएका सडकमा दुर्घटना भएर नागरिकले ज्यान गुमाउँदा सरकारको जिम्मेवारी कहाँ जान्छ?” भन्दै महतले सरकार नागरिकको पीडामा संवेदनशील बन्नुपर्ने बताएका छन्।
त्यस्तै, एउटा व्यवसाय सञ्चालन गर्न विभिन्न निकायमा दर्ता, अनेक कर तथा शुल्क तिर्नुपर्ने तर सेवा दिनुपर्ने बेला राज्य जिम्मेवारीबाट पन्छिने प्रवृत्ति बढेको उनको आरोप छ। उनले यसलाई लोकतान्त्रिक शासन प्रणालीको भावना विपरीत राज्यको गैरजिम्मेवारीपूर्ण व्यवहारको संज्ञा दिएका छन्।
महतले करलाई दया नभई नागरिकको पसिनाबाट उठाइएको रकम भएको उल्लेख गर्दै करदाताले सरकारसँग प्रश्न गर्ने, हिसाब माग्ने र जवाफदेहिता खोज्ने अधिकार कुनै पनि हालतमा खोस्न नसकिने बताएका छन्।
उनले सरकारलाई करदाताको सम्मान गर्न, गुणस्तरीय सेवा दिन, सुरक्षित सडक निर्माण गर्न तथा पारदर्शी शासन सुनिश्चित गर्न आग्रह गरेका छन्। अन्यथा नागरिकले कर उठाउने नैतिक आधारबारे निरन्तर प्रश्न उठाइरहने चेतावनी समेत दिएका छन्।
सामाजिक सञ्जालमा उनको उक्त अभिव्यक्तिप्रति धेरैले समर्थन जनाउँदै राज्यले करसँगै सेवा र सुरक्षा सुनिश्चित गर्नुपर्ने धारणा राखेका छन्।














