हेटौडा, असार १४ गते। पहाडी तथा हिमाली क्षेत्रमा मात्र स्याउ उत्पादन सम्भव हुन्छ भन्ने धारणा बदल्दै हेटौंडा उपमहानगरपालिका–१५ सानोसुकौलीस्थित ‘स्यामा बाटिका एकीकृत कृषि तथा पशुपंक्षी फर्म’ ले व्यावसायिक स्याउ खेतीमार्फत नयाँ सम्भावना देखाएको छ ।

स्थानीय वातावरण अनुकूल प्रविधि अपनाएर सञ्चालन गरिएको फर्ममा हाल करिब १५० वटा स्याउका बोटबाट उत्पादन भइरहेको छ । फर्मले काँचोदेखि पाकेको स्याउसम्मको स्वाद लिन सकिने व्यवस्था गर्नुका साथै स्याउका बिरुवा उत्पादन गरी जिल्ला भित्र र बाहिरका कृषकसम्म पुर्याउँदै आएको छ ।

फर्मको अवलोकनका लागि हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामा सहितको टोली सानोसुकौली पुगेको थियो । टोलीमा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर वली लगायतको सहभागिता रहेको थियो ।
अवलोकनपछि नगर प्रमुख लामाले हेटौंडामै व्यावसायिक स्याउ उत्पादन सुरु हुनु सकारात्मक संकेत भएको बताइन् । उनले कृषि क्षेत्रमा युवा उद्यमीहरूको सक्रियता प्रशंसनीय रहेको उल्लेख गर्दै स्थानीय उत्पादन, रोजगारी र आत्मनिर्भरतामा यसले महत्त्वपूर्ण योगदान पुग्ने धारणा राखिन् ।

हेटौंडा–१५ का युवा कृषि उद्यमीहरूले सञ्चालन गरेको फर्म अहिले स्थानीय कृषकका लागि प्रेरणाको केन्द्र बन्दै गएको छ । स्याउ खेतीलाई व्यावसायिक रूपमा विस्तार गर्दै कृषि पर्यटनको सम्भावना समेत विकास गर्न सकिने देखिएको छ ।















