हेटौंडा, साउन ५ गते । हेटौंडा उपमहानगरपालिकाले स्वीकृति लिएर सञ्चालनमा रहेका निजी अस्पतालहरूको सेवा, पूर्वाधार तथा विशेषगरी प्रयोगशाला (ल्याब) सेवाको अवस्था बुझ्न अनुगमनलाई तीव्रता दिएको छ।

यसैक्रममा नगर प्रमुख मीनाकुमारी लामाको नेतृत्वमा गएको अनुगमन टोलीले हेटौंडा–६ स्थित सिद्धस्थली कम्युनिटी अस्पतालको निरीक्षण तथा अनुगमन गरेको हो।
अनुगमनका क्रममा अस्पतालको भौतिक पूर्वाधार, स्वास्थ्य उपकरण तथा सेवा प्रवाहको अवस्थालाई सन्तोषजनक र उत्कृष्ट पाइएको नगर प्रमुख लामाले बताइन्। बजार क्षेत्रबाट केही टाढा रहे पनि समुदायको समेत लगानीमा स्थापना भएको उक्त अस्पताललाई प्रभावकारी रूपमा सञ्चालन गर्न उपमहानगरपालिकाले आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

केही दिनयता अस्पताल बन्द रहेको भन्ने सूचना प्राप्त भएपछि अनुगमन टोली अस्पतालमै पुगेर वास्तविक अवस्था बुझ्नुका साथै अस्पताल व्यवस्थापनसँग छलफल गरेको थियो।
सिद्धस्थली कम्युनिटी अस्पतालबाट ओपीडी (बहिरंग सेवा), आकस्मिक (इमर्जेन्सी) सेवा, सामान्य चिकित्सा, स्त्री तथा प्रसूति सेवा, बालरोग सेवा, प्रयोगशाला (ल्याब), एक्स–रे तथा भिडियो एक्स–रे (अल्ट्रासाउन्ड) लगायतका स्वास्थ्य सेवाहरू प्रदान हुँदै आएको छ।

यसैगरी अनुगमन टोलीले हेटौंडा–२ स्थित निको अस्पताल र हेटौंडा–१ स्थित हेटौंडा सिटी अस्पतालको पनि निरीक्षण गरी अस्पताल व्यवस्थापनसँग सेवा प्रवाह तथा प्रयोगशाला सेवासम्बन्धी विषयमा छलफल गरेको छ।
अनुगमनमा हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सूर्यप्रसाद तिवारी, कानुन अधिकृत लक्ष्मण मैनाली लगायतको सहभागिता रहेको थियो। उपमहानगरपालिकाले नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाउने सुनिश्चितताका लागि नियमित अनुगमनलाई निरन्तरता दिने जनाएको छ।













