हेटौँडा, साउन १५ गते । सेवा सहयोग र आवाजका अध्यक्ष तथा सामाजिक अभियन्ता विशालराज महतले विकास निर्माणका नाममा भइरहेको सार्वजनिक बजेट खर्चप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस सार्वजनिक गर्दै आवश्यकता, दीर्घकालीन योजना र गुणस्तरभन्दा पनि बजेट सक्ने प्रवृत्तिले स्थानीय विकासलाई कमजोर बनाइरहेको बताएका छन्।

महतले विकास निर्माणका कार्यहरू दिगो हुनुपर्नेमा जोड दिँदै, आवश्यकता भन्दा बढी खर्च गरेर गुणस्तरको नयाँ परिभाषा लेख्ने प्रयास भइरहेको टिप्पणी गरेका छन्। उनका अनुसार मोटा–मोटा ल्याप (डामरको तह) राख्न र हटाउन समेत मेसिन प्रयोग गरिनु विकासको नाममा स्रोतको दुरुपयोग भएको संकेत हो।
उनले आज निर्माण गर्ने र भोलि फेरि भत्काउने प्रवृत्तिलाई “स्थानीय तहको दिगो विकासको नयाँ संस्करण” भन्दै व्यंग्य गरेका छन्। २५ मिटरको मापदण्डभित्र परेर निकट भविष्यमा हटाउनुपर्ने संरचनामा समेत ठूलो रकम खर्च गरिनु दूरदृष्टिको अभाव भएको उनको भनाइ छ।
महतले बजेट ल्याएको श्रेय लिने, त्यसपछि आफूले विकास गरेको भन्दै प्रचार गर्ने र अन्त्यमा समस्या देखिए दोष अरूमाथि थोपर्ने प्रवृत्ति मौलाएको आरोप लगाएका छन्। यसले जनताले अपेक्षा गरेको विकासभन्दा पनि बजेट सक्ने प्रतिस्पर्धालाई प्राथमिकता दिएको उनको टिप्पणी छ।
उनले विकास योजनाहरू दीर्घकालीन सोचका साथ आवश्यकताको आधारमा कार्यान्वयन हुनुपर्ने उल्लेख गर्दै कर र जरिवाना तिर्ने आम नागरिकले त्यसको प्रतिफलस्वरूप गुणस्तरीय र दिगो पूर्वाधार पाउनुपर्ने धारणा व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत व्यक्त गरिएको उनको धारणा अहिले सार्वजनिक खर्चको पारदर्शिता, योजना छनोट र विकास निर्माणको प्रभावकारिताबारे बहसको विषय बनेको छ।














