हेटौंडा, साउन १५ गते । हेटौंडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलले पछिल्लो समय देशका विभिन्न स्थानमा देखिएको सामाजिक तनाव र हिंसात्मक गतिविधिप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव, एकता र मानवीयताको पक्षमा उभिन सबैलाई आग्रह गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै वडाध्यक्ष सिग्देलले समाजमा उत्पन्न हुने अस्थिर अवस्था र संवेदनशील परिस्थितिको फाइदा उठाउँदै आफ्ना स्वार्थ पूरा गर्न खोज्ने तत्वहरू सक्रिय रहेको बताएका छन्। उनले यस्ता गतिविधिबाट नागरिक सचेत रहनुपर्नेमा जोड दिएका छन्।
उनले “भेलबाढीमा आफ्नो भविष्य देख्ने” प्रवृत्तिप्रति संकेत गर्दै धमिलो अवस्थाको दुरुपयोग गरी समाजमा विभाजन, द्वन्द्व र अस्थिरता सिर्जना गर्न खोज्ने प्रयासप्रति सजग रहन आग्रह गरेका छन्। जिम्मेवार पदमा रहेका व्यक्तिहरूले पनि परिस्थिति थप भड्काउने अभिव्यक्ति दिनुभन्दा सामाजिक एकता र सहिष्णुतालाई मजबुत बनाउने भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ।
सिग्देलले अहिलेको परिस्थितिमा संयमता, धैर्यता र आपसी विश्वास नै सबैभन्दा ठूलो आवश्यकता भएको उल्लेख गर्दै सबै समुदायबीच सद्भाव, भाइचारा र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउनुपर्ने बताएका छन्।
उनले शान्ति, लोकतन्त्र र राष्ट्रिय एकताको संरक्षण सबै नागरिकको साझा जिम्मेवारी भएको उल्लेख गर्दै कुनै पनि प्रकारको हिंसा, द्वेष र विभाजनको राजनीति अस्वीकार्य रहेको धारणा व्यक्त गरेका छन्।













