भाबर, भदौ २३ गते । मकवानपुरको मनहरी गाउँपालिका–९ भाबरस्थित भित्री सडकखण्डबाट प्रहरीले १६२ किलो ७९४ ग्राम लागुऔषध गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार राति करिब २:४५ बजे भाबरबाट खरङ्गातर्फ आउँदै गरेको बा.प्र.०१–०२५ च ०८७७ नम्बरको कारलाई ग२च ६१५ नम्बरको पिकअप गाडीले स्कर्टिङ गर्दै ल्याइरहेको अवस्थामा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको गस्ती टोलीले विशेष सूचनाका आधारमा दुवै गाडी रोकी जाँच गरेको थियो।
जाँचका क्रममा कारको सिटभित्र लुकाइछिपाइ प्लास्टिकले बेरिएको अवस्थामा १३ पोका गाँजा फेला परेको प्रहरीले जनाएको छ। बरामद गाँजा तौल गर्दा १६२ किलो ७९४ ग्राम रहेको खुलेको छ।

प्रहरीका अनुसार स्कर्टिङ गरिरहेको पिकअप गाडी रोक्न खोज्दा भाग्न खोजेको थियो। पछि प्रहरीले दुवै सवारीसाधन नियन्त्रणमा लिएको हो। प्रारम्भिक सोधपुछका क्रममा पिकअपले गाँजा बोकेको कारलाई स्कर्टिङ गरेको खुलेपछि दुवै सवारीसाधन तथा चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा चितवनको माडी नगरपालिका–५ धोबाहा बस्ने ५६ वर्षीय देव नारायण महतो रहेका छन्। उनी गाँजा बरामद भएको कारका चालक रहेको प्रहरीले जनाएको छ। त्यस्तै, पिकअप चालक चितवनको भरतपुर महानगरपालिका–२४ बस्ने ४८ वर्षीय टेकबहादुर दोङलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
दुवै सवारीसाधनसहित पक्राउ परेका व्यक्तिहरूलाई इलाका प्रहरी कार्यालय मनहरीमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














