हेटौंडा, भदौ २५ गते । कैलास गाउँपालिका कार्यालय, कालिकाटारले सन्ध्या निर्माण सेवाका प्रोप्राइटर टाकाराज थापामाथि अदालत परिसरमै गाउँपालिकाका पूर्वाधार विकास शाखा प्रमुख इन्जिनियर अनिलप्रसाद जोशीलाई गालीगलौज, अभद्र व्यवहार तथा ज्यान मार्ने धम्की दिएको आरोप लगाउँदै कारबाहीको माग गरेको छ। गाउँपालिकाको उक्त विज्ञप्तिपछि थापाले भिडियो सन्देशमार्फत आरोपको खण्डन गर्दै आफूले गालीगलौज वा धम्की नदिएको दाबी गरेका छन्।

गाउँपालिकाले आज जारी गरेको विज्ञप्तिमा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालित पाखे बृहत् खानेपानी तथा सरसफाइ योजना, कैलास–८, प्रदेश विशेष अनुदानअन्तर्गतको काम सन्ध्या निर्माण सेवाले जिम्मा लिएको उल्लेख छ। सार्वजनिक खरिद ऐन तथा नियमावलीअनुसार जिम्मेवारी पूरा नगरेको ठहर गर्दै २०८३ भदौ ४ गतेको कार्यपालिका बैठकको निर्णयअनुसार निर्माण सेवामाथि कालोसूचीमा राख्नेलगायत कारबाहीका लागि सिफारिस गरिएको गाउँपालिकाले जनाएको छ।
उक्त निर्णयविरुद्ध निर्माण व्यवसायीले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको र सो मुद्दामा २०८३ भदौ २४ गते अन्तरिम आदेशसम्बन्धी छलफलका लागि अदालत पुगेको गाउँपालिकाको भनाइ छ। छलफल स्थगित भएपछि फर्किने क्रममा करिब बिहान १०ः३० बजे थापाले अदालत परिसरमै इन्जिनियर जोशीलाई गालीगलौज गर्नुका साथै ज्यान मार्ने धम्की दिएको आरोप गाउँपालिकाले लगाएको छ।

गाउँपालिकाका सम्पूर्ण कर्मचारीको बैठकबाट उक्त घटनाप्रति गहिरो खेद तथा भर्त्सना व्यक्त गर्दै कर्तव्य पालनामा रहेका राष्ट्रसेवक कर्मचारीमाथि हुने गालीगलौज, अभद्र व्यवहार तथा धम्कीका घटनाविरुद्ध एकजुट भएर कानुनबमोजिम कारबाहीको माग गरिएको विज्ञप्तिमा उल्लेख छ। यस्ता घटनाले कर्मचारीको मनोबलमा असर पार्नुका साथै सेवा प्रवाहमा समेत प्रतिकूल प्रभाव पार्ने गाउँपालिकाको भनाइ छ।
तर, गाउँपालिकाको विज्ञप्ति सार्वजनिक भएपछि सन्ध्या निर्माण सेवाका प्रोप्राइटर तथा राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका उपसभापति टाकाराज थापाले भिडियो सन्देश जारी गर्दै आफूविरुद्ध लगाइएको आरोप पूर्णतः असत्य, भ्रामक र अतिरञ्जित भएको दाबी गरेका छन्।
थापाले उच्च अदालत पाटन परिसरमा आफू र इन्जिनियर जोशीबीच प्राविधिक तथा कानुनी विषयमा सामान्य कुराकानी मात्र भएको र आफूले कुनै किसिमको गालीगलौज वा ज्यान मार्ने धम्की नदिएको बताएका छन्। अदालत परिसरजस्तो स्थानमा सरकारी कर्मचारीमाथि अभद्र व्यवहार गर्ने कुरा आफूले सोच्नसमेत नसक्ने उनको भनाइ छ।
खानेपानी योजनाको काम, सम्पन्न अवस्था र बिल भुक्तानीको विषयमा आफूले गाउँपालिकाका सम्बन्धित अधिकारीहरूसँग पटक–पटक कुराकानी गरेको थापाले बताएका छन्। आफूले इन्जिनियरबाट काम लगभग सम्पन्न भइसकेको र बाँकी काम पूरा भएपछि बिल उपलब्ध गराउने आश्वासन पाएको दाबी गर्दै त्यससम्बन्धी कुराकानीको रेकर्ड आफूसँग रहेको उनले बताएका छन्।
आफूमाथि गरिएको कारबाही नियोजित तथा व्यक्ति केन्द्रित भएको दाबी गर्दै थापाले आफ्नो निर्माण सेवाले जिम्मा लिएको काम सम्पन्न भइसकेको प्रमाण आफूसँग रहेको बताएका छन्। वडा अध्यक्षबाट प्राप्त सम्पन्नसम्बन्धी पत्र तथा अन्य कागजातसमेत अदालतमा पेश गर्ने उनले बताएका छन्।
अदालत परिसरमा भएको कुराकानीका क्रममा आफूले आवेगमा आएर आवाज ठूलो बनाएको हुनसक्ने स्वीकार गर्दै त्यसप्रति भने उनले क्षमा मागेका छन्। तर, आफूले इन्जिनियरलाई डर–धम्की नदिएको र गालीगलौज पनि नगरेको उनको स्पष्टोक्ति छ।
थापाले आफू अन्यायमा परेको दाबी गर्दै न्यायका लागि अदालत पुगेको र अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वास रहेको बताएका छन्। मुद्दा विचाराधीन रहेकाले आफूविरुद्ध जारी भएका एकतर्फी आरोपका आधारमा भ्रमित नहुन उनले सञ्चारमाध्यम तथा सर्वसाधारणलाई आग्रह गरेका छन्।
साथै, आफ्नो पक्षसमेत नबुझी समाचार सम्प्रेषण गरिएको भन्दै थापाले सञ्चारमाध्यमप्रति असन्तुष्टि व्यक्त गरेका छन्। समाचार लेख्दा आरोप लगाउने र आरोपित दुवै पक्षसँग यथार्थ जानकारी लिएर तथ्यपरक समाचार सम्प्रेषण गर्न उनले आग्रह गरेका छन्।
यस घटनामा कैलास गाउँपालिकाले कर्मचारीमाथि अभद्र व्यवहार तथा धम्की भएको दाबी गरेको छ भने थापाले उक्त आरोप अस्वीकार गर्दै आफूले केवल काम सम्पन्न, बिल भुक्तानी तथा निर्माण सेवामाथि गरिएको कारबाहीको विषयमा कुराकानी गरेको बताएका छन्। विषय अदालतमा विचाराधीन रहेकाले यसको अन्तिम निरूपण न्यायिक प्रक्रियाबाट हुने देखिन्छ।














