राक्सिराङ गाउँपालिका, असोज ८ गते । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मकवानपुरको राक्सिराङ गाउँपालिका कार्यसमितिको सभापतिमा देव लामा निर्वाचित भएका छन्।
बुधबार सम्पन्न गाउँपालिका अधिवेशनअन्तर्गत भएको निर्वाचनमा लामाले १२४ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी बुद्धराम मोक्तानले ६६ मत प्राप्त गरे। सभापति पदका लागि कुल १९० क्षेत्रीय प्रतिनिधि मतदाता रहेका थिए। लामा मोक्तानलाई ५८ मतको अन्तरले पराजित गर्दै निर्वाचित भएका हुन्।
उपसभापति (महिला) पदमा दिपा सुनार निर्वाचित भएकी छन्। सुनारले ९६ मत प्राप्त गर्दा उनकी प्रतिस्पर्धी विपी मोक्तानले ८८ मत प्राप्त गरिन्।
त्यस्तै, उपसभापति (पुरुष) पदमा रामचन्द्र ब्लोन निर्वाचित भएका छन्। ब्लोनले १०९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी सोम प्रजाले ८० मत पाए।
सचिव पदमा टिकराम थिङ निर्वाचित भएका छन्। उनले १०० मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी लोक प्रजाले ८४ मत प्राप्त गरे।
सहसचिव पदमा डसबहादुर ब्लोन निर्विरोध निर्वाचित भएका छन्। कार्यसमितिका अन्य सदस्यहरू पनि निर्विरोध चयन भएका छन्।
नवनिर्वाचित कार्यसमितिले राक्सिराङ गाउँपालिकामा नेपाली कांग्रेसको संगठनलाई व्यवस्थित गर्दै आगामी राजनीतिक तथा संगठनात्मक गतिविधिलाई अघि बढाउने बताइएको छ।














