हेटौँडा, असोज ८ गते । हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाले निरन्तर भइरहेको वर्षाका कारण बाढी तथा पहिरोको जोखिमबाट सचेत रहन नगरवासीलाई अनुरोध गरेकी छन्।
मेयर लामाले सामाजिक सञ्जाल फेसबुक मार्फत दुई दिनदेखि निरन्तर वर्षा भइरहेको र मौसम पूर्वानुमान महाशाखाले असोज ९ गते भारी तथा अति भारी वर्षाको सम्भावना रहेको जानकारी गराएको भन्दै नगरवासीलाई सावधानी अपनाउन अनुरोध गरेकी हुन्।
वर्षाका कारण हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै हेटौंडा उपमहानगरपालिकाभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरू असोज ९ गते सञ्चालन नगर्न अर्थात् बन्द गर्न नगरले अनुरोध गरेको उनले बताएकी छन्।
मेयर लामाले प्राकृतिक विपत्तिबाट आफू र अरूलाई जोगाउन समयमै सचेत हुन आग्रह गरेकी छन्। नगरवासी कोही कतै समस्यामा परेको वा उद्धार हुन नसकेको जानकारी पाए तत्काल उपमहानगरपालिकामा खबर गर्न पनि उनले अनुरोध गरेकी छन्।
उद्धार तथा विपद्सम्बन्धी सूचना दिन ९८४५०२८४२१ र ०५७–५२०६७७ नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ।
वर्षाको अवस्था हेरेर नगरपालिकाले आगामी कदम चाल्ने मेयर लामाले उल्लेख गरेकी छन्।














