हेटौँडा, असोज १० गते । वर्षायाममा सडकमा पानी जम्ने, डुबान हुने र आवागमनमा समस्या भोग्दै आएका हेटौँडा उपमहानगरपालिका–४ का बासिन्दाले पछिल्लो समय राहतको अनुभूति गर्न थालेका छन्। वडा कार्यालयले सडक स्तरीकरण, ढल व्यवस्थापन तथा कालोपत्रे ओभरलेपिङका कामलाई प्राथमिकतामा राखेर अघि बढाएसँगै डुबानको समस्या क्रमशः कम हुँदै गएको हो।
वडा अध्यक्ष नवीन सिग्देलका अनुसार हुप्रचौरस्थित पानी ट्याङ्कीबाट पशुपति मन्दिर जाने सडक स्तरीकरणको काम अघि बढेको छ। हेटौँडा उपमहानगरपालिका र सडक बोर्डको साझेदारीमा बजेट व्यवस्थापन गरिएको उक्त सडकको टेन्डर प्रक्रिया पूरा भई निर्माण कार्यसमेत अघि बढाइएको उनले बताए।
वर्षायाममा पानी जम्ने र आवागमनमा समस्या हुने हुप्र पानी ट्याङ्की–पशुपति मन्दिर सडक स्तरीकरणपछि वडा नं. ४ का डुबान प्रभावित क्षेत्रमा पानी निकास तथा आवागमनको समस्या धेरै हदसम्म समाधान हुने अपेक्षा गरिएको छ।
यसैगरी हेटौँडा बजार क्षेत्रको व्यस्त अजरअम्बर रोडमा कालोपत्रे ओभरलेपिङ तथा खोपे गल्लीमा समेत कालोपत्रे ओभरलेपिङको काम अघि बढाउने तयारी भइरहेको अध्यक्ष सिग्देलले जानकारी दिए।
उनका अनुसार यसअघि पारिजातपथस्थित दाजुभाइ अगाडिको क्षेत्र, प्रजातान्त्रिकपथस्थित ब्रह्मदिक अगाडिको क्षेत्र, गर्दोही, हेटौँडा क्याम्पस जाने सडक तथा गरुढपथका भित्री सडकमा डुबानको समस्या न्यूनीकरण गरिएको छ।
चालु आर्थिक वर्ष २०८३/०८४ मा वडा कार्यालयले सडक स्तरीकरण, ढल व्यवस्थापन, सडक सुधार तथा अन्य पूर्वाधार निर्माणका योजनालाई प्राथमिकतामा राखेको छ। विभिन्न सडक स्तरीकरण, ढल तथा पेटी निर्माण र कच्ची सडक सुधारका कामलाई समेत अघि बढाइएको अध्यक्ष सिग्देलले बताए।
वर्षायाममा सडकमा पानी जम्ने, खाल्टाखुल्टी हुने तथा आवागमनमा समस्या भोग्दै आएका स्थानीयवासीले सडक स्तरीकरण र ढल व्यवस्थापनका कामलाई राहतको विषयका रूपमा लिएका छन्। पानीको सहज निकास, सडकको गुणस्तर सुधार र आवागमन सहज बनाउने पूर्वाधार निर्माणले दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पार्ने स्थानीयको भनाइ छ।
अध्यक्ष सिग्देलले विकासका काममा परिणामलाई प्राथमिकता दिँदै सडक, ढल तथा अन्य आवश्यक पूर्वाधार निर्माणलाई निरन्तरता दिइएको बताएका छन्। वडा नं. ४ मा ज्येष्ठ नागरिक कक्षलगायतका पूर्वाधार निर्माणका कामसमेत अघि बढाइएको उनले जानकारी दिए।
हुप्र पानी ट्याङ्कीबाट पशुपति मन्दिर जाने सडक स्तरीकरणसँगै बाँकी सडक सुधार र ढल व्यवस्थापनका कामले निरन्तरता पाए हेटौँडा–४ मा वर्षायाममा देखिँदै आएको डुबान तथा सडकमा पानी जम्ने समस्या थप न्यूनीकरण हुने अपेक्षा गरिएको छ।

















