काठमाडौं, असोज १० गते । मनसुन प्रतिकार्य कमाण्ड पोष्ट, रसुवा–भोटेकोशी बाढीपछिको खोज, उद्धार तथा राहतका लागि गठित परिचालन टोली र विषयगत मन्त्रालयका क्लस्टर प्रमुखहरूको संयुक्त बैठक आज पनि बसेको छ।

बैठकमा देशका अधिकांश स्थानमा वर्षा जारी रहेकाले विभिन्न क्षेत्रमा परेको प्रभावको समीक्षा गरिएको छ। वर्षाका कारण उत्पन्न जोखिम, उद्धार तथा राहतका लागि भइरहेका प्रयास र आगामी दिनमा अपनाउनुपर्ने सावधानीका विषयमा समेत छलफल भएको छ।
बैठकमा रसुवा बाढीपछि अवरुद्ध सडक सम्पर्क पुनःस्थापना गर्न भइरहेको प्रयासको पछिल्लो अवस्थाबारे सडक विभागका उच्च अधिकारीहरूले जानकारी दिएका थिए। बाढीका कारण प्रभावित सडक तथा यातायात सम्पर्कलाई यथाशीघ्र सञ्चालनमा ल्याउन भइरहेका कामबारे बैठकमा समीक्षा गरिएको हो।

यसैबीच, केन्द्रीय मनसुन प्रतिकार्य कमाण्ड पोष्ट र रसुवा बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका प्रमुख जिल्ला अधिकारीहरूबीच अनलाइन माध्यमबाट छलफल भएको छ।
छलफलमा रसुवा बाढीबाट प्रभावित लाभग्राहीको पहिचान, लाभग्राही कायम गर्ने प्रक्रिया तथा राहत र पुनःस्थापनासँग सम्बन्धित विषयमा छलफल गरिएको छ। तीनवटै जिल्लाको पछिल्लो अवस्था र आवश्यक समन्वयका विषयमा समेत जानकारी आदानप्रदान गरिएको बताइएको छ।
मनसुनजन्य विपद्को जोखिम कायमै रहेकाले प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत तथा सडक सम्पर्क पुनःस्थापनाका कामलाई समन्वयात्मक रूपमा अघि बढाउने विषयमा बैठकले जोड दिएको छ।

















