उज्यालो नेपाल पार्टीको ‘हरित क्रान्ति’ आर्थिक विकासको नयाँ आधार बन्न सक्ने सुरेन्द्र लामाको धारणा

मकवानपुर, असोज १० गते । उज्यालो नेपाल पार्टी मकवानपुरका जिल्ला अध्यक्ष सुरेन्द्र लामाले नेपालको आर्थिक विकासका लागि ‘हरित क्रान्ति’लाई महत्वपूर्ण आधारका रूपमा अघि बढाउनुपर्ने धारणा राखेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै लामाले विगतमा देश विकासका नाममा विभिन्न राजनीतिक नेतृत्वबाट ठूला–ठूला आश्वासन र भाषण सुनिए पनि स्पष्ट योजना र कार्यान्वयनको खाका नहुँदा ती विषयहरू भाषणमै सीमित हुने गरेको बताएका छन्।

देश निर्माण नाराबाट मात्र सम्भव नहुने उल्लेख गर्दै उनले नेतृत्वले सत्ता प्राप्तिसँगै देशलाई कुन दिशामा लैजाने र त्यसका लागि के गर्ने भन्ने स्पष्ट सोच तथा योजना प्रस्तुत गर्नुपर्ने बताएका छन्।

नेपालको आर्थिक विकासका विभिन्न मोडेलबारे चासो राख्दै आएको उल्लेख गर्दै लामाले नेपालको पानी, ऊर्जा, वन, कृषि, पर्यटन तथा जैविक विविधताजस्ता सम्भावनालाई आधार बनाएर देशको विकासको बाटो तय गर्नुपर्ने बताएका छन्। यही क्रममा नेपालको सन्दर्भमा ‘हरित अर्थतन्त्र’ उपयुक्त विकास मोडेल हुन सक्ने निष्कर्षमा आफू पुगेको उनको भनाइ छ।

उज्यालो नेपाल पार्टीले आगामी राजनीतिक यात्राको मूल आधारका रूपमा ‘हरित क्रान्ति’लाई अघि सारेको विषयलाई आफूले देशको भविष्यबारे आफ्नो सोचसँग जोडिएको विषयका रूपमा लिएको लामाले बताएका छन्।

उनका अनुसार ‘हरित क्रान्ति’ वातावरण संरक्षणमा मात्र सीमित विषय नभई नेपालको अर्थतन्त्र, रोजगारी, उत्पादन र समृद्धिसँग जोडिएको विषय हो। प्रकृतिको संरक्षण गर्दै उत्पादन वृद्धि गर्ने, उत्पादनसँगै रोजगारी सिर्जना गर्ने र रोजगारीमार्फत अर्थतन्त्रलाई बलियो बनाउने दिशामा अघि बढ्नुपर्ने उनको धारणा छ।

लामाले आगामी दिनमा उज्यालो नेपाल पार्टीले अघि सारेको ‘हरित क्रान्ति’को अवधारणा, यसको उद्देश्य र नेपालमा त्यसलाई व्यवहारमा कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने विषयमा थप छलफल तथा बहस गर्दै जाने बताएका छन्।

उनले नेपालको विशेषता र सम्भावनालाई आधार बनाएर देशलाई सुहाउने विकासको बाटो खोज्नुपर्नेमा जोड दिएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.