हेटौंडा–१३ मा पार्टी कार्यालय अवलोकन गर्दै कुलमान घिसिङ, प्रशिक्षण कार्यक्रममा मकवानपुरलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता

हेटौंडा, असोज २० गते । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आज हेटौंडामा सुरु भएको मकवानपुरका पार्टी संगठन तथा कार्यकर्ताहरूको विशेष प्रशिक्षण तथा भेलामा सहभागी हुनुअघि हेटौंडा उपमहानगरपालिका–१३ लोकतान्त्रिक चोकस्थित पार्टी कार्यालयको अवलोकन गरेका छन्।

उज्यालो नेपाल पार्टीले केही दिनअघि स्थापना गरेको मकवानपुर जिल्ला पार्टी कार्यालयमा पुगेका अध्यक्ष घिसिङलाई पार्टीका कार्यकर्ता तथा स्थानीयले स्वागत गरेका थिए। स्थानीय तथा कार्यकर्ताले उनलाई खादा लगाएर स्वागत गरेका थिए।

कार्यालय अवलोकनका क्रममा अध्यक्ष घिसिङले स्वागतका लागि उपस्थित पार्टी कार्यकर्ता तथा स्थानीयलाई धन्यवाद दिएका छन्। उनले मकवानपुरलाई उज्यालो नेपाल पार्टीका लागि महत्वपूर्ण जिल्लाका रूपमा लिएको बताए।

घिसिङले आज हेटौंडामा बिहान ८ बजेदेखि सुरु भएको विशेष प्रशिक्षण तथा भेलामा सहभागी हुन आफू मकवानपुर आएको बताए। उनले यसअघि भएको निर्वाचनमा यस क्षेत्रबाट पार्टीलाई उल्लेख्य मत प्राप्त गरी पहिलो स्थानमा स्थापित गर्न सहयोग गर्ने मतदाताप्रति धन्यवाद व्यक्त गरे।

उनले आगामी स्थानीय, प्रदेश तथा संघीय निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप सक्रिय बनाउनुपर्नेमा जोड दिए। मकवानपुरमा आगामी निर्वाचनमा थप मतसहित पार्टीलाई बलियो बनाउने अपेक्षा रहेको बताउँदै उनले बागमती प्रदेशमा उज्यालो नेपाल पार्टीको बहुमतको सरकार बनाउने उद्देश्यका साथ संगठन विस्तार र राजनीतिक गतिविधिलाई अघि बढाइरहेको बताए।

घिसिङले आगामी स्थानीय तहको निर्वाचनमा पार्टीलाई जिताउँदै त्यसपछि हुने संघीय निर्वाचनमा पनि उज्यालो नेपाल पार्टीलाई देशको नेतृत्व गर्ने राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने लक्ष्य रहेको उल्लेख गरे।

उनले पार्टीका कार्यकर्तालाई आफू आबद्ध रहेको स्थानमा निरन्तर क्रियाशील रहन आग्रह गर्दै संगठन निर्माणलाई प्राथमिकतामा राख्न अनुरोध गरे। मकवानपुरका स्थानीय तह, वडा तथा पालिका तहसम्म पार्टी संगठनलाई थप व्यवस्थित बनाउने विषयमा आफूले आगामी दिनमा समय दिने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

हेटौंडा–१३ मा छोटो समयका लागि पार्टी कार्यालय अवलोकन तथा कार्यकर्तासँग भेटघाट गर्न पुगेका अध्यक्ष घिसिङले आजको विशेष प्रशिक्षण तथा भेलाको कार्यक्रम तय भइसकेकाले त्यहाँ सहभागी हुनुपर्ने बताएका थिए। आगामी दिनमा पर्याप्त समय लिएर हेटौंडा–१३ लगायत स्थानीय तह र वडा स्तरमा पुग्ने उनको भनाइ थियो।

हाल हेटौंडामा बिहान ८ बजेदेखि मकवानपुरका पार्टी संगठन तथा कार्यकर्ताहरूका लागि विशेष प्रशिक्षण तथा भेला कार्यक्रम सञ्चालन भइरहेको छ। प्रशिक्षणमा पार्टी संगठन, आगामी राजनीतिक गतिविधि तथा निर्वाचनकेन्द्रित तयारीलगायत विषयमा छलफल हुने जनाइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.